‘नाम नै मेरो आत्मकथा’

हिजोआज के लेख्दै हुनुहुन्छ ?
अहिले एउटा उपन्यास लेखनको आरम्भतिर छु म । सँगसँगै केही गीत, कविता र लघुकथाहरू लेखिरहेको छु ।
तपाई आवेगले लेख्नुहुन्छ कि विवेकले ?
धेरै समाचोलक, शभचिन्तक र पाठकहरू भन्छन्, ‘सरुभक्तको लेखनमा बौद्धिकता पाइन्छ ।’ तर, आवेग, उत्तेजना, विवेक भन्ने चिजहरू जुन छन्, ती चिजहरू रचनासापेक्ष हुने कुरा हो । रचना कस्तो किसिमको छ ? रचनाको आवश्यकता र माग के छ ? त्यसअनुसार आवेग, उत्तेजना र विवेक प्रयोग हुन्छ ।
नेपाली साहित्यलाई ‘सरुभक्त’को बढी खाँचो छ या सरुभक्तलाई नेपाली साहित्य ?
निश्चय पनि सरुभक्तलाई नेपाली साहित्य चाहिएको हो । नेपाली साहित्यमा मजस्ता सिर्जनाकर्मी असंख्य हुनहुन्छ । मविना पनि नेपाली साहित्य रहन्छ तर नेपाली साहित्यविना म रहनै सक्दिनँ ।
‘सरुभक्त’ले नलेख्दा नेपाली साहित्यलाई के घाटा हुन्छ ?
केही घाटा हुन्छ जस्तो लाग्दैन । अघि पनि भनेँ, नेपाली साहित्यमा धेरै प्रतिभावान् साहित्यकार हुनुहुन्छ । मैले नलेख्दा नेपाली साहित्यमा अभाव वा शून्यता हुन्छ भन्ने भ्रम राख्दिनँ म ।
तपार्इंको लेखन कहाँदेखि सुरु भएको थियो र अहिले कहाँ पुग्यो ?
म लहडले साहित्य सिर्जनामा लागेको हुँ । विद्यालयमा अध्ययन गर्दा प्रारम्भिक चरणका कविताहरू लेख्न थालेँ । त्यसबेला गुरुहरूको प्रेरणाले गर्दा साहित्य सिर्जना गर्ने थालेँ । तीसको दशकपछिचाहिँ साहित्यलाई बुझेर लेख्न सुरु गरें । आफ्नो अहम्लाई अभिव्यक्त गर्ने माध्यमका रूपमा साहित्यलाई प्रयोग गर्दै आएको छु । खै, कहाँ आइपुगियो ? लेखिरहेकै छु, पत्तो नै छैन ।
अहिलेसम्म कति लेखिसक्नुभयो, अब बाँकी कति छ ?
अहिलेसम्म मेरा तीन दर्जन बढी पुस्तक प्रकाशित छन् । तीसवटा जति पुस्तक प्रकाशन हुन बाँकी छ । तीमध्ये तीन/चारवटा पुस्तक यस वर्ष प्रकाशन गर्ने योजनामा छु । मैले अहिलेसम्म जति लेखे, त्योभन्दा बढी लेख्न बाँकी छ । विषयहरू अथाह छन् । एउटा जीवनमा लेखेर सकिँदैन ।
लेख्नुअघि सिर्जनाले पार्ने प्रभावबारे पूर्वअनुमान गर्नुहुन्छ कि हुन्न ?
लेख्नुअघि त्यसले पार्ने प्रभावका बारेमा लेखाजोखा गर्नुभन्दा पनि आफ्नो अन्तरमनले के लेख्न भनेको छ, त्यसलाई सकेसम्म राम्ररी अभिव्यक्त गर्ने प्रयत्न गर्छु । सकेसम्म राम्रो लेखूँ, त्यसको प्रभाव राम्रो होस् भन्ने त हुन्छ नै । तर, मेरो लेखनले कसलाई कस्तो प्रभाव पर्छ  भनेर अनुमान गर्दिनँ ।
तपार्इंको लेखन आकस्मिक हुन्छ कि योजनाबद्ध ?
कतिपय आकस्मिक हुन्छ, कतिचाहिँ योजनाबद्ध पनि । कुनै घटनाहरूबाट प्रेरणा जागेर आकस्मिक रूपमा रचना गरिन्छ । आकस्मिक रूपमा भावना जागेर गीत, कविता एकै मिनेटमा पनि लेखेका घटनाहरू पनि छन् । आकस्मिकताचाहिँ बढी गीत, कविता लेखनमा लागु भइरहेको हुन्छ । दीर्घ र लामा रचनाहरूचाहिँ योजनाबद्ध हुन्छ । उपन्यास, काव्य, महाकाव्य, नाटकजस्ता योजनाबद्ध नै हुन्छ । यस्ता लामो रचना आकस्मिक रूपमा लेखियो भने सार्थक नहुन सक्छ ।
‘संरक्षण कविता आन्दोलन’ चलाइरहनुभएको छ । यो आन्दोलन किन र कसका लागि ?
यसको आरम्भ ०५५मा मुस्ताङको मुक्तिनाथमा पाँचबुँदे घोषणपत्र जारी गरेर सुरु गरेका हौं । नेपाल गाउँ नै गाउँले भरिएको देश हो । गाउँ–गाउँसम्म पुगेर गाउँले जीवन र उनीहरूका सुखदु:ख, सपना, विपनालाई समेटेर कविता लेख्ने अनि उनीहरूलाई पनि साहित्यको रसास्वादन गराउने नै यसको मुख्य उद्देश्य हो ।
मोफसलमा बसेर लेखिरहनुभएको छ, मोफसलका साहित्यका दु:ख के हो ?
हाम्रो साहित्य र सञ्चार काठमाडांै केन्द्रित छ । ती माध्यमसम्म पुग्नका लागि संघर्ष गर्नुपर्ने हुन्छ । तर, अहिले पनि मोफसलबाटै धेरै राम्रा साहित्य प्रतिभा स्थापित भएका छन् । सञ्चारको अभिवृद्धिसँगै साहित्यकारहरूले आफ्नै ठाउँमा बसेर आफ्ना साहित्य सिर्जनाहरूलाई देशविदेशमा पुर्‍याइरहेका छन् ।
सरुभक्तले पोखरामा साहित्यको ‘मठ’ चलाइरहेको छ भनिन्छ नि ?
खोई कहाँ सुन्नुभयो यस्तो ? सिर्जनशील क्षेत्रमा पनि सर्जकहरूले कहिलेकाहीँ असहिष्णु अभिव्यक्ति दिन्छन् क्यारे । जहाँसम्म मेरो व्यक्तिगत कुरा छ, म पोखरामा साहित्यिक, सांगीतिक, सामाजिक सबै अभियानमा संलग्न छु । सबैले आवश्यकता बोध गरेअनुरूप आउने जाने गर्छु । साहित्य क्षेत्रमा कसैलाई ठूलो या सानो भनेर व्यवहार पनि गर्दिनँ । कसैलाई चित्त दुखाउने काम पनि गर्दिनँ । त्यस्तो भन्नेहरूले किन भने ? उनीहरूलाई नै सोध्नुपर्छ ।
तपाईकै नाममा साहित्यकार सरुभक्त सरोकार
केन्द्र गठन भएको छ, यसले नेपाली साहित्यलाई के दिन्छ ?
मैले गरेका सिर्जनाहरू व्यवस्थित तरिकाले प्रकाशन भएनन् भन्ने सबैको गुनासो थियो । मेरा सबै सिर्जनाहरूको व्यवस्थित प्रकाशन र प्रचारप्रसार गर्ने अभिप्रायले ०६० सालमा मलाई माया गर्ने सिर्जनाकर्मीहरूले गठन गर्नुभएको हो यो सरोकार केन्द्र । यसका संस्थापक अध्यक्ष मेरा मित्र तथा प्रख्यात कवि तीर्थ श्रेष्ठ थिए । उनको नेतृत्वमा गठन भएको यो संस्थाले मेरा रचनालाई केही हदसम्म व्यवस्थित गरेर प्रकाशन गर्न सहयोग पुर्‍याइरहेको छ । अव्यवस्थित मान्छेलाई व्यवस्थित बनाउन सहयोग गर्दै आएको छ । नेपाली साहित्यका लागि के योगदान दिन सक्छ, हेर्दै जाम ।
तपाईं आफूलाई कतिको अब्बल साहित्यकार मान्नुहुन्छ, नेपाली साहित्यकारहरूको कुन ‘र्‍यांक’मा राख्नुहुन्छ आफूलाई ?  
म त आफूलाई कुनै पनि ‘र्‍यांक’मा आफूलाई नराखूँ भन्छु । साहित्यकारहरूको ‘र्‍यांकिङ’ कसरी गर्ने मलाई त्यो नै थाहा छैन । कसरी गर्ने, के हेरेर गर्ने ? यस विषयमा अनभिज्ञ छु म । ‘र्‍यांकिङ’ गर्नुभन्दा पनि इतिहासलाई मूल्यांकन गर्न छाडिदिनुपर्छ जस्तो लाग्छ मलाई ।
तपार्इंलाई असाध्यै राम्रो लाग्ने आफ्नो कृति कुन हो ?
एकदमै सन्तुष्ट हुने गरी मैले कृति जन्माउनै सकेको छैन, त्यही जन्माउन नसकेको मेरो कृति मलाई सबैभन्दा राम्रो र प्रिय लाग्छ । यद्यपि धेरैले मलाई मेरो उपन्यास ‘पागल बस्ती’बाट चिन्छन् । यस्तै ‘समय त्रासदी’ उपन्यासबाट पनि मलाई पाठकहरूले चिन्छन् ।
पढ्नलायक नेपाली साहित्यकारहरू को को हुन् ?
यस्ता धेरै साहित्यकार हुनुहुन्छ । नामै लिनुपर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, विजय मल्ल, पारिजात, शंकर लामिछाने, भूपि शेरचनजस्ता साहित्यकाहरूको रचनाबाट म प्रभावित छु ।
पोखराकै साहित्यकारहरूचाहिँ नि ?
लोककवि अलि मियाँ, जनकवि धर्मराज थापा । मेरा समकालीनहरूमा कवि तीर्थ श्रेष्ठ धेरै राम्रो कवि हुनुहन्छ । नयाँ पुस्तामा धेरै राम्रो प्रतिभा जन्मिरहेका हुनहुन्छ ।
तपाईले त विवाह गर्नुभएन, अविवाहित साहित्यकारका दु:ख के हो ?
यो व्यक्तिसापेक्ष हुन्छ जस्तो मलाई लाग्छ । सबै साहित्यकारको एउटै खालको मनोदशा हुंदैन । अविवाहित हुनाका आफ्नै कारण हुन्छन् । मेरो पनि आफ्नै कारण छ । जहाँसम्म मेरो दु:खको कुरा छ, म अविवाहित भए पनि पूर्ण परिवारमा छु । आमाबुवा र पाँचजना दाइभाइ छन् मेरा । यो उमेरसम्म पनि हामी सबै एउटै घरमा छौं । म अविवाहित भए पनि मैले छोरी पाएको छु । छोरी सरस्वती ‘प्रतीक्षा’ पनि कवयित्री नै हुन् । एउटा तीन वर्षको नाति पनि छ । यस्तो पारिवारिक वातावरणमा भएकाले मेरो कुनै उल्लेख्य दु:ख छैन ।
तपाईंले कुनै एकजना साहित्यकारसँग बिताउने अवसर पाउनुभयो भने को रोज्नुहुन्छ, किन ?
महाकवि लक्ष्मीप्रसाद देवकोटा । म उहाँसँग साहित्यका बहुआयामिकताका बारेमा प्रश्नहरू सोधेर धेरै ज्ञान लिन्थेँ । यदि देशबाहिरको जीवित साहित्यकार भए, मार्खेजसँग बिताउन चाहन्थेँ । मार्खेज यो पुस्ताका सबैभन्दा शक्तिशाली उपन्यासकार लाग्छ मलाई ।
साहित्यकारहरूको जीवनमा मदिरा र महिलाको हस्तक्षेप बढी नै हुन्छ रे, तपाईंको जीवनमा चाहिँ कस्तो छ ?
मदिरासँग मेरो कहिल्यै साइनो नै परेन । मैले सधैं चिया मात्रै पिएँ । अहिले त्यसको मात्रा पनि घट्दै गएको छ । जहाँसम्म महिलाको कुरा छ, मेरो नाम ‘सरुभक्त’ हो । ‘सरुभक्त’ हुँ म । मेरो नाम नै मेरो आत्मकथा हो । त्योभन्दा बढी के भनूँ र ?
प्रस्तुति : राजेश राई

प्रतिक्रिया