राखेपको ढोकाबाट संघको संसारतिर


राष्ट्रिय खेलकुद परिषद् (राखेप) पदाधिकारीको जिम्मेवारी खेलकुदको नीति एवं नियम निर्माण र त्यसको व्यवस्थापन गर्नु हो । मुलुकमा खेलिने विभिन्न खेलका स्तरनिर्धारण र विकास गर्नेतिर राखेपअन्तर्गतका संघहरूलाई डोर्‍याउनु हो । साँचो अर्थमा उनीहरू मुलुकको खेलक्षेत्रका नेता हुनुपर्ने हो तर भइरहेको छ ठिक उल्टो । उनीहरूलाई हेर्दा यस्तो लाग्न थाल्छ, मानौँ राखेप छिर्नुको अर्थ भने ‘खेल संघतिर प्रवेश गर्नु’ हो भन्ने मात्र बुझिएको छ । त्यसैको परिणाम हो सदस्यसचिवदेखि सदस्यसम्म सबैजना ‘मालदार’ संघमा अहोरात्र सोचमग्न भइरहेको पाइन्छ ।
संघ विघटन, राखेप मनोनयन र नयाँ संघ दर्ताजस्ता प्रसंग राखेप पदाधिकारीलाई संघ छिर्ने राम्रो अवसर बन्ने गरेका छन् । अहिले सदस्यसचिव युवराज लामाबाहेक अधिकांश पदाधिकारी विभिन्न ‘बहाना’मा संघ प्रवेश गरिसकेका छन् । सदस्य रेशम लामा सितेरियो कराते संघमा सदस्य छन् भने नेपाल रेन्बुकाई संघमा महासचिव । त्यस्तै सदस्य मानबहादुर न्यौपाने एथ्लेटिक्स संघमा उपाध्यक्ष छन् ।
सदस्य नै रहेका रामकृष्ण बानिया डान्स स्पोर्टस संघमा अध्यक्ष छन् । अर्का सदस्य नम्बर शेर्पा भने नेपाल रेन्बुकाई संघमा सदस्य छन् भने डान्स स्पोर्टसमा सचिव । त्यस्तै राखेप कोषाध्यक्ष इन्द्रबहादुर थिङ उसु संघमा उपाध्यक्ष्य छन्  । कुसुमकुमारी श्रेष्ठ पनि उसु संघमा सदस्य छिन् । त्यस्तै मुकुन्द पहरी डान्स स्पोर्टसमा उपाध्यक्ष्य छन् । सदस्य देव लामा कराते महासंघमा उपाध्यक्ष छन् ।
मन्त्रिपरिषद् निर्णयबाट ११, संघबाट तीन, पाँच विकास क्षेत्रबाट एक/एक र विश्वविद्यालयबाट एक गरी राखेप बोर्डमा २० जना पदाधिकारी रहने व्यवस्था छ ।  विघटनपछि बनेको तदर्थ समितिमा रहेका न्यौपाने एथ्लेटिक्समा निर्विरोध निर्वाचित भई पुगेका हुन् भने सितेरियोमा रेशम र देवको प्रवेश पनि यसरी नै भएको हो । युवराज लामा सदस्यसचिव भएपछि डान्स स्पोर्टस दर्ता भएको हो भने रेन्बुकाई पुनर्गठन गरिएको हो । यी दुवै संघमा प्राय: राखेप पदाधिकारीको बाहुल्यता छ । त्यस्तै, कुसुम मनोनित हुँदै उसु संघमा प्रवेश गरेकी हुन् । जिल्लाबाट प्रतिनिधि बनेर थिङ उसुमा प्रवेश गरेका हुन् । पुनर्गठनपछि कराते महासंघमा देव उपाध्यक्ष भएका हुन् । राखेपमा रहँदा संघप्रवेश नै सदस्यको प्रमुख एजेन्डा रहने गरेको जानकार बताउँछन् । ‘राखेप आउनु अघिदेखि नै सदस्यहरूले अध्ययन गरिसकेका हुन्छन्, कुन संघको स्थिति कस्तो छ र कहाँ छिर्न सजिलो छ ।’ नाम उल्लेख नगेर्ने सर्तमा राखेपका एक उच्च कर्मचारी स्रोतले भन्यो ।
तत्कालीन सदस्यसचिव जीवनराम श्रेष्ठ राखेप कोटामा जुडो संघमा छिरेका थिए । पछि उनी जुडोबाट ओलम्पिक कमिटीमा प्रवेश गरेका हुन्  । उनले आºनै अध्यक्षतामा नेपाल स्कि संघ पनि दर्ता गर्न भ्याए । जीवनराम सदस्यसचिव रहँदा पनि थुप्रै पदाधिकारी संघमा छिरे । सदस्य पुरेन्द्र विक्रम लाखे कराते महासंघमा अध्यक्ष भए भने उपाध्यक्ष सीताराम मास्के भारत्तोलनमा प्रवेश गरे । अर्का सदस्य राजु श्रेष्ठ जुडो र लक्ष्मण श्रेष्ठ आर्चरीमा छिरेका थिए । यी सबैजना संघ पुनर्गठन हँदै प्रवेश गरेका हुन् ।
यतिबेला धेरै राखेप सदस्यले संघ छिर्ने अवसर पाएको रमाइलो घटना छ । दोस्रोपटक जीवनराम सदस्यसचिव बन्दा त्यसअघि निर्वाचन भएका तर कार्यकाल नसकिएका १४/१५ संघलाई विघटन गरिएका थिए । तत्कालीन सदस्यसचिव किशोरबहादुर सिंहका पालामा भएका संघको निर्वाचन शाही शासनताका भएको भन्दै जीवनरामले ती संघलाई विघटन गरी पुन: निर्वाचन प्रक्रियामा लगेका थिए ।
जीवनरामपछि राखेप सदस्यसचिव भएका हरिबाबु चौधरीका पालामा पनि केही सदस्यले संघभित्र प्रवेश गर्ने मौका पाए । ११आँसाग दौरान कपर्दी संघ विवादमा आएपछि त्यसलाई विघटन गर्दै तत्कालीन राखेप सदस्य लालबहादुर लामाको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो । उनीपछि निर्वाचित अध्यक्ष पनि बने । उनी सोतोकान कराते संघ (जेएसकेए) मा पनि वरिष्ठ उपाध्यक्ष छन् । हरिबाबुकै पालामा दर्ता भएको  नेपाल कर्लिङ संघमा पनि लामा उपाध्यक्ष नै छन् । त्यस्तै, पौडी संघ पनि विवादमा आएपछि विघटन गर्दै तत्कालीन सदस्य समिममिया अन्सारीको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो ।
राखेप सदस्य नै आबद्ध हँदा संघको पारदर्शितामा शंका उत्पन्न हुने राखेपका कर्मचारी बताउँछन् । ‘संघमा राखेप पदाधिकारी हँदा हामीलाई समेत काम गर्न गाह्रो हुन्छ, यसले राखेपको ‘काम कार्वाही’ नै प्रभावित हुन्छ ।’ नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भन्छन् । चार वर्षीय कार्यकाल लिएर आए पनि राजनीतिक नेतृत्व परिवर्तनका बीच पद छाड्नुपर्ने नैतिक सर्तमा बाँधिएका राखेप पदाधिकारी अवसर पायो कि संघमा छिरिहाल्न बार्गेनिङ गर्ने परिपाटी नेपालमा सामान्य बनिसकेको छ । संघको निर्वाचनताका हुने विवादले पनि संघमा के छ भन्ने कुरालाई पारदर्शी बनाउँछ ।

प्रतिक्रिया