साम्राज्यवादको गम्भीर विश्लेषण

पढेका पुस्तकमध्ये केहीले मात्र मनमस्तिष्कमा गहिरो प्रभाव पार्छन् । मलाई अत्यधिक प्रभावित गरेको एउटा पुस्तक ‘नेकेड इम्पेरियलिज्म’ हो । यस पुस्तकका लेखक जोन बेलमी फोस्टर हुन् । फोस्टर विख्यात माक्र्सवादी हुन् र ‘मन्थली रिभ्यु’ पत्रिकासँग सम्बन्धित छन् । यो पुस्तक सन् २००५ मा मन्थली रिभ्यु प्रेसबाट प्रकाशित भएको थियो । यस पुस्तकमा अत्यन्त सूक्ष्म र गहन रूपमा वर्तमान साम्राज्यवाद, खासगरी अमेरिकी साम्राज्यवादका बारेमा विश्लेषण गरिएको छ । वर्तमान साम्राज्यवादको बहुआयामिक तस्बिरलाई पुस्तकमा तथ्य र तर्कसहित सजीव प्रस्तुति दिइएको छ । फोस्टर आपैँm पनि एक अमेरिकी हुन् र उनले अमेरिकाको साम्राज्यवादी गतिविधिलाई अत्यन्त नजिकबाट नियालेका छन् । पुस्तकमा आजको साम्राज्यवाद, अमेरिकी साम्राज्य, उसका गतिविधि, दृष्टिकोण र नीतिबारे सविस्तार चर्चा गरिएको छ । पुस्तक पढिसक्दा साम्राज्यवादको नांगो तस्बिर आँखाअगाडि नाच्न थाल्छ । सायद त्यसैले पुस्तकको नाम पनि ‘नेकेड इम्पेरियलिज्म’ राखिएको छ । पुस्तकले जसरी साम्राज्यवादलाई नांगो बनाएर प्रस्तुत गरेको छ, त्यसले यस पुस्तकको शीर्षकलाई सार्थक तुल्याएको छ ।
कुनैबेला साम्राज्यवादको मुखिया बेलायत थियो । बेलायती साम्राज्यमा सूर्यास्त कहिल्यै हुँदैन भनिन्थ्यो । द्वितीय विश्वयुद्धपछि यो स्थितिको अन्त्य भयो । ब्रिटिस साम्राज्य मात्र होइन, अरू साम्राज्यहरू पनि समाप्त भए । साम्राज्यको अन्त साम्राज्यवादको अन्त भने थिएन । साम्राज्यवाद जीवित थियो र भिन्न रूपमा अगाडि बढ्दै थियो, उही रूपमा जीवित रहन सम्भव पनि थिएन । साम्राज्यवादको रूप मात्र बदलिएको थिएन, केन्द्र पनि बदलिएको थियो । बेलायतका ठाउँमा अमेरिका आएको थियो । अमेरिका द्वितीय विश्वयुद्धपछिको साम्रज्यवादको मुखियाका रूपमा उदाएको थियो । युद्धमा उसले प्रस्तुत गरेको सैनिक श्रेष्ठता, तुलनात्मक रूपले सुदृढ अर्थव्यवस्था, विज्ञान र प्रविधिको महत्त्वपूर्ण विकासका कारण द्वितीय विश्वयुद्धपछि साम्रज्यवादको मुखियाका रूपमा अमेरिकाको उदय सम्भव भएको थियो । अमेरिकालाई उछिनेर कोही मुखिया हुन सक्ने अवस्था थिएन । अमेरिकाका निम्ति मैदान खुला थियो । दौडमा ऊ एक्लो थियो । ऊ झन्डै–झन्डै निर्विवादित नेता थियो । अमेरिकी साम्राज्य निर्माणका निम्ति यो अत्यन्त सुनौलो अवसर थियो । त्यसबेलादेखि अहिलेसम्म अमेरिका विश्व साम्राज्यवादको निर्विवाद र चुनौतीविहीन नेता रहँदै आएको छ । एक बलियो केन्द्र र नेताका रूपमा अमेरिकाले निर्वाह गरेको भूमिका साम्राज्यवादलाई बलियो बनाइराख्ने र यसविरुद्धको संघर्षलाई कमजोर र प्रभावहीन बनाउने सन्दर्भमा अन्य पँुजीवादी मुलुकको तुलनामा अत्यन्त उल्लेखनीय रहेको छ ।
द्वितीय विश्वयुद्धपछि साम्राज्यवादको मुखियाका रूपमा अमेरिकाद्वारा विश्वमा जे भएको छ, त्यो सबैका आँखाअगाडि छ । सोभियत समाजवादी क्रान्तिले साम्राज्यवाद विरोधी संघर्षलाई ठूलो ऊर्जा प्रदान गरेको थियो । समाजवादी क्रान्ति एवं साम्राज्यवाद विरोधी राष्ट्रिय स्वाधीनता आन्दोलनका कारण साम्राज्यवाद आफ्नो रूपलाई बदल्न विवश भएको थियो । द्वितीय विश्वयुद्धपछि साम्राज्यवाद नवउपनिवेशवादका रूपमा अगाडि आएको थियो । साम्राज्यवादका निम्ति सोभियत संघ ठूलो चुनौती थियो । साम्राज्यको विस्तारमा यो गम्भीर अवरोधक थियो । साम्राज्यवादले ‘समाजवादको खतरा’ ‘शीतयुद्ध’ ‘लोकतन्त्र’ ‘मानव अधिकार’ आदिका नाममा आफ्नो अभियानलाई जारी राखे पनि त्यो सोचे र चाहेजस्तो हुन सकेको थिएन र त्यसो हुन सम्भव पनि थिएन । सोभियत संघको पतनपछि यो स्थिति रहेन । विश्व एक धु्रवीय भयो । साम्राज्यवादका अगाडि अब कुनै बलियो पर्खाल थिएन । साम्राज्यवादका निम्ति यो सुवर्ण अवसर थियो । शीतयुद्धका समयमा खुम्चिएका साम्राज्यवादी गतिविधिलाई अब फुक्काफाल अगाडि बढाइँदै थियो । ‘इतिहासको अन्त्य’, ‘विचारधाराको अन्त्य’ जस्ता अवधारणले यसलाई बलियो टेवा पुर्‍याउँदै थिए । साम्राज्यवाद अमेरिकी अगुवाइमा अगाडि बढेको थियो । परिवर्तित परिस्थिति साम्राज्यवादका निम्ति निकै अनुकूल थियो । यसले साम्राज्यवादको सुदृढीकरणका साथसाथै अमेरिकी साम्राज्यको विस्तारमा निकै ठूलो योगदान पुर्‍याएको थियो ।
फोस्टरले यस पृष्ठभूमिलाई आफ्नो पुस्तकमा कोट्याउँदै आजको साम्राज्यवादको चरित्रलाई प्रस्तुत गरेका छन् । आजको समय नवउदारवादको समय हो । नवउदारवाद ८० को दशकपछि विकसित पुँजीवादको एक खास चरित्र हो । यसले लोककल्याणकारी राज्यको अवधारणा र यसको नियन्त्रणकारी भूमिकालाई अस्वीकार गर्छ । यसले निजीकरण, पुँजीको निर्बन्ध वर्चस्व र केन्द्रीयतालाई महत्त्व दिन्छ । भूमण्डलीकरण आजको साम्राज्यवाद हो । यो नवउदारवादमाथि आरुढ भएर विश्व घुम्दै छ । फोस्टर आजको अमेरिकाको हतियार भूमण्डलीकरण र नवउदारवाद रहेको बताउँछन् र ऊ यसैमार्फत विश्ववर्चस्वका निम्ति क्रियाशील रहेको उल्लेख गर्छन् । शैन्यवाद, नवउदारवाद र भूमण्डलीकरण अमेरकी साम्राज्यवादका हतियार हुन् भन्ने निष्कर्ष फोस्टरको छ । उनले विश्वमा रहेका अमेरिकी शैन्य शिविरहरूको विस्तारपूर्वक चर्चा गरका छन् र विश्वमा कहाँ–कहाँ अमेरिकी शैन्यशिविर रहेका छन् भन्ने देखाएका छन् । फोस्टरले भनेभैँm अमेरिकी साम्राज्यवादको एक मुख्य आधार विश्वका विभिन्न भूभागमा छरिएर रहेका अमेरिकी सैनिक अखडाहरू नै हुन् । अमेरिकाले प्रत्येक वर्ष खर्बाैं डलर हातहतियारका निम्ति खर्च गर्छ । अमेरिका सैन्य शिविरहरूको कटौती होइन, विस्तारमा लाग्दै आएको छ । अमेरिकी सैन्यवादको सबैभन्दा चरम रूप इराक, अफगानिस्तान, लिबिया, सोमालिया, सुडान आदि मुलुकमा देख्न सकिने फोस्टरको भनाइ छ । फोस्टरका विचारमा ११ सेम्टेम्बर २००१ पछि अमेरिका मुस्लिम आतंकवादका नाममा सबभन्दा बढी आक्रामक भएको छ र यसको भित्री रणनीति साम्राज्यवाद र मध्यपूर्वको तेलसँग सम्बन्धित रहेको छ । इराकमाथिको आक्रमणले यसैलाई पुष्टि गर्छ । अमेरिका मध्यपूर्वमा त्यस्तो कुनै पनि शक्तिको उदय देख्न चाहन्न जो अमेरिकी साम्राज्य र स्वार्थका निम्ति गम्भीर चुनौती बनोस् ।
अमेरिकी साम्राज्यवादको अर्काे आधार अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरू रहेको फोस्टरको विचार रहेको छ । विश्वबैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्वव्यापार संगठनलगायत कयौँ बहुराष्ट्रिय कम्पनीले अमेरिकी साम्राज्यका निम्ति कसरी काम गर्दै छन् भन्ने खुलासा फोस्टरले यस पुस्तकमा प्रभावकारी ढंगले गरेका छन् । नवउदारवाद र भूमण्डलीकरणले विश्वव्यापी रूपमा साम्राज्यवादका जराहरूलाई कसरी बलियो बनाउँदै छन् भन्ने कुराको मसिनो विश्लेषण पनि पुस्तकमा पाइन्छ । फोस्टरले अमेरिकाले कसरी कार्य गर्छ र यसका परिणामहरू केके हुन्छन् भन्ने तथ्यलाई पनि देखाएका छन् । आजको साम्राज्यवादको अन्तिम हतियार सैन्यशक्ति हो । त्योभन्दा पहिले आर्थिक, राजनीतिक सांस्कृतिक हतियारको प्रयोग गरिन्छ भन्ने विश्लेषण फोस्टरको छ । फोस्टरले  अमेरिका कसरी मानवअधिकार, स्वतन्त्रता र लोकतन्त्रको नाममा दुनियाँमा आफ्नो वर्चस्व कायम राख्न र विस्तार गर्न चाहन्छ भन्ने तथ्य उद्घाटन गरेका छन् । पुस्तकले क्रमबद्ध रूपमा साक्ष्यसहित आजको साम्राज्यवादको चरित्रलाई स्पष्ट गर्छ र यसविरूद्ध प्रतिरोधको आवश्यकता औँल्याउँछ । अमेरिका र आजको साम्राज्यवादबारे यति सूक्ष्म विश्लेषण गरिएका पुस्तक कमै पढ्न पाइन्छ । पुस्तकमा फोस्टरले नब्बेको दशकपछिको अमेरिकाको समग्र चिरफार नै गरेका छन् भन्दा पनि हुन्छ । पुस्तकले आजको साम्राज्यवादलाई बुझ्न निकै मद्दत गर्छ । यो पुस्तक यस्तो बेलामा प्रकाशनमा आएको थियो, जुनबेला अमेरिका ‘मुस्लिम आतंकवाद’ का नाममा विश्वमा आफ्नो पकड अझ बढी सुदृढ गर्दै थियो । यस पुस्तकले साम्राज्यवादको चरित्रलाई मात्र स्पष्ट गर्दैन, त्यसविरुद्धको संघर्षका निम्ति दृष्टि र दिशा पनि प्रदान गर्छ ।आजको

प्रतिक्रिया