जोनको बिहे हुने

बलिउडका ‘ह्यान्डसम’ अभिनेता जोन अब्राहमलाई सन् २०१२ फापेजस्तो छ । यो वर्ष ‘हाउसफुल–२’ नामक फिल्ममा उनको अभिनयलाई दर्शकले ज्यादै रुचाए भने यसै अवधिमा उनले निर्माण गरेको फिल्म ‘विक्की डोनर’ ले पनि सफलता हासिल गर्‍यो । यही वर्ष विवाह गरी एक्लो जीवनमाथि विजय हासिल गर्ने निश्चय उनले गरेपछि २०१२ जोनलाई असाध्यै फापेको चर्चा चल्न थालेको छ । यही वर्षभित्र घर बसाउने घोषणा गर्दै जोनले भने, ‘अब म पति बन्दैछु ।’ प्रिया रुंचल नाम गरेकी युवतीसँग विवाह गर्न लागेको उनले बताए । जोन र प्रियाबीचको ‘अफेयर’ केही समययता ‘मिडिया मसाला’ बन्न पुगेको थियो । तर, यसले उग्ररुप लिन नपाई जोनले प्रियासँग विवाह गर्ने घोषणा गरेका छन् ।
‘एकअर्कासँग भेटेको दुई महिनापछि हामी ‘डेट’ जान थाल्यौँ । यही वर्ष हामी बिहे गर्दैछौँ । बिहेका लागि म व्यग्र भएको छु । यस्तो अवस्थामा अर्कै साता उनीसँग लगनगाँठो कसिन के बेर ?’, ठट्यौली पारमा जोनले भने । तामझामका साथ विवाह गर्ने सोच नबनाएको उनले बताएका छन् । ‘विवाहमा मुस्किलले १० जना उपस्थित हुनेछन्, त्यो पनि परिवारका सदस्य र नजिकका मित्र मात्रै,’ उनले भने । जोनको अभिनेत्री विपाशा बसुसँग वर्षांसम्म ‘अफेयर’ चलेको थियो । विपाशासँग प्रेममा रहेकै बेला प्रियासँग पनि सम्बन्ध थियो भन्ने प्रश्नको जवाफमा उनले कुरा चपाउँदै भने, ‘त्यस्तो होइन । म प्रियालाई ज्यादै मन पराउँछु, ऊसामु मनका सबै कुरा खोल्न मलाई संकोच लाग्दैन ।’ (एजेन्सी)

प्रतिक्रिया