चैनपुर–५, हेटौँडाका ध्रुव न्यौपाने ग्ल्यामरस दुनियाँको यात्रामा मोडलिङको बाटो हुँदै चलचित्रसम्म पुगेका छन् । तीन वर्षअगाडि गायक स्वरूपराज आचार्यको तिमीले छोयौ आकाश जुन बोलको गीतमा पहिलो पटक मोडलिङ गरेर कलाक्षेत्रमा पाइला बढाएका न्यौपानेले त्यसलगत्तै शिव परियारको किन गाली गर्छौ त्यसै बोलको गीतमा पनि क्षमता देखाए । यी दुवै गित मिडियामा हिट भए, सँगसँगै चिनिए धु्रव पनि ।
प्लस टुको अध्ययन सकाएर कलाक्षेत्रमा होमिएका उनले दुई दर्जन हाराहारी म्युजिकभिडियोमा काम गरेको अनुभवलाई द क्वाइभ, सन्त्रास, प्लानलगायत चलचित्रमा समेत प्रस्तुत गरिसके । हाल चलचित्र फुलस्टपमा अभिनय गर्ने खरखरमा छन् । भन्छन्– ‘चलचित्र क्षेत्र मेरो सोख हो भने कलाकारिताचाहिँ बच्चैदेखिको रुचि ।’
गोरो अनुहार, काला आँखा अनि मसिनो बोलीका न्यौपाने चलचित्रयात्रालाई प्रभावकारी बनाउन चन्द्र पन्तसँग फाइट र गोबिन्द राईसँग नृत्यको प्रशिक्षण पनि लिएका रहेछन् । त्यसो त उनलाई नेपाली चलचित्रको व्यावसायिक निर्माता बन्ने रहर छ । ‘त्यसकै प्रिप्लानका रुपमा अभिनयमार्फत अनुभव बटुल्दै गरेको हुँ’, उनले सुनाए– ‘एक वर्षभित्रै चलचित्र निर्माण पनि गर्ने सोचमा छु ।’ चलचित्रका यी ह्यान्डसम ठिटालाई पछ्याउने युवती पनि कम नहोलान् । यीचाहिँ कत्तिका आसक्ति राख्छन् त तिनीहरुप्रति ? भने– ‘म त विवाहित मान्छे । आफ्नो कामप्रति मतलब राख्छु केटीहरुप्रति होइन । चलचित्र प्लानको फाइट दृश्यमा घाइते हुँदा पीडाबोध गरेका यिनी आफूलाई चाहिँ कस्ता चलचित्र मन पर्लान् त ? सुनाए– ‘फरक अनि युवाका विषयवस्तुमा बनेका चलचित्र ।’
प्रतिक्रिया