सेनाको आफ्नै नर्सिङ महाविद्यालय

काठमाडौ, १५ वैशाख । प्रधानसेनापति छत्रमान सिंह गुरुङले नेपाली सेनाको नर्सिङ महाविद्यालयको उद्घाटन गरेका छन् । नर्सिङ महाविद्यालयको आज काठमाडौंमा उद्घाटनपछि गुरुङले निरीक्षण समेत गरेका छन् ।
वि.सं. १९८२ सालमा स्थापना भएको त्रिभुवन चन्द्र मिलिटरी हस्पिटल रहेको काठमाडौंको महाकालस्थानमा नर्सिङ महाविद्यालयको उद्घाटन भएको हो । १२ रोपनी जग्गामा निर्मित महाविद्यालयमा हाल एक सय दुई जना विद्यार्थी अध्ययनरत महाविद्यालयका प्रिन्सिपल प्राविधिक सहायक रथी डा.नर्बदा थापाले जानकारी दिइन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अधिकारीहरुले बताए अनुसार महाविद्यालय सैनिक कल्याणकारी कोषले सञ्चालन गर्नेछ । महाविद्यालयमा अध्ययन गर्नेहरुलाई प्रयोयात्मक अभ्यासका लागि पाँच सय बेड क्षमता रहेको वीरेन्द्र अस्पताल छाउनी पठाइनेछ ।
महाविद्यालयमा अध्ययनरत एक सय दुई जना विद्यार्थी मध्ये सैनिक तर्फका पाँच जनालाई पूर्ण, १० जनालाई आंशिक छात्रवृत्ति उपलब्ध गराइएको छ । गैरसैनिक तर्फ आठ जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया