ग्याजेट्सबिना बाँच्न गाह्रो

हामी अहिले ग्याजेटको गोल्डेन एजमा बाँचिरहेका छौँ । विश्वास लाग्दैन ? आफैँलाई हेर्नुस् एकपटक । पकेटमा लाइटवेट, आकर्षक डिजाइन, राम्रो अडियो क्वालिटी र मनले चाहेको मेमोरी हुने छरितो म्युजिक प्लेयर होला । किरिङको साइजमा डाटा स्टोरेज डिभाइस, हाँसेपछि मात्र फोटो खिच्ने डिजिटल क्यामेरा अनि स्मार्टफोन । यी र यस्तै ग्याजेटविनाको जीवन बाँच्न अब तपाईंलाई पक्कै पनि गाह्रो हुन्छ होला ।
स्टाइल र प्रविधिको संयोजन गरेर विभिन्न कम्पनीले उत्पादन गरेका इन्टरटेनमेन्ट ग्याजेट्सलाई युवाले आफ्नो अभिन्न साथी बनाएका छन् । दुनियाँ साघुँरिदो छ । प्रविधिले हरेक कुरालाई दिनदिनै सानो बनाउँदै छ । एउटा कोठामा नअट्ने क्यामेरा अब सर्टको टाँकमा फिट गर्न सकिने भएको छ । कोठाजत्रो कम्प्युटर ल्यापटप, पामटप हुँदै फिङगर टपमा आइपुगेको छ । रिमोटको साटो आवाजबाट चल्ने फ्लेक्जिबल स्क्रिनयुक्त टेलिभिजन बजारमा आइसकेको छ, जसलाई फोल्ड गरेर खल्तीमा पनि राख्न सकिन्छ । डिजिटल दुनियाँको बढ्दो गियरले मानव जीवनलाई निकै रफ्तारमय बनाएको छ । हामी प्रविधिसँगै बाँचिरहेका छौँ र सास फेरिरहेका छौँ । ग्याजेट्स आधुनिक मानव जीवनको अभिन्न अंग भइसकेको छ तर हामीलाई यो अनुभव छैन कि हामी कति भर परेका छौँ ग्याजेट्समा, माछालाई आफू पानीमा भएको थाहा नभए जस्तै । अहिलेको युवापुस्ता अधिकांश समय परिवारका सदस्य र साथीभाइसँग भन्दा ग्याजेट्ससँग बिताउँछ । उसको दैनिकी ग्याजेट्सबाट सुरु हुन्छ र ग्याजेट्समै सकिन्छ । एयरफोनको गेडो घुसार्दै आइपोडमा जिबीका जिबी गीत र भिडियो बोकेर हिँडेको हुन्छ ऊ । दुनियाँको के मतलब ? ऊ व्यक्तिगत दुनियाँमै रमाउन चाहन्छ । त्यसैले उपभोक्तालाई त्यस्तै अनुभूति हुने गरी अहिले हरेक इलेक्ट्रोनिक्स सामानलाई सानो र सस्तो बनाइँदै छ । प्रतिस्पर्धाले गर्दा ग्याजेट्सहरू यति सस्तो र सर्वसुलभ भइसकेका छन् कि कुनै बेला यी चिज विलासिताका वस्तु थिए भनेर पत्याउन गाह्रो हुन्छ ।
वर्ष २०१२ मा पनि ग्याजेट वल्र्डमा केही नयाँ धमाका हुने देखिन्छ । यो वर्ष एप्पलको आइफोन फाइभ र आइप्याड थ्रीसहित स्क्यानिङ माउस, सुपर पावर ट्याबलेट, टु इन वन ट्याबलेट तथा टच स्क्रिन नोटबुक जस्ता थुप्रै ग्याजेट्स लन्च हुँदै छन् ।

लक्ष्मीप्रसाद

प्रतिक्रिया