‘एकै प्रहारमा अमेरिकालाई हराउँछौं’

सोल : उत्तर कोरियाका सेना प्रमुख रि योङ होले एकै प्रहारमा अमेरिकालाई हराउनसक्ने ‘शक्तिशाली आधुनिक हतियार’ आफूहरूसँग रहेको दाबी गरेका छन् । उनले उत्तर कोरियाली सेना परमाणु र सैन्य शक्ति भएको दाबी गर्दै भनेका छन्, ‘कोरियाली जनसेना शक्तिशाली आधुनिक हातहतियारले सुसज्जित छ, यसले साम्राज्यवादी (अमेरिका)लाई एकै प्रहारमा पराजित गर्न सक्छ ।’
कोरियाली सेना स्थापना भएको ८० वर्ष पूरा भएको अवसरमा कोरियाको सत्तारुढ पार्टी र सेनाका अधिकारी सहभागी भएको बैठकमा यस्तो बताइएको बुधबार प्रकाशित समाचारमा जनाइएको छ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सहभागी बैठकमा उनले भनेका थिए, ‘हाम्रा महान् नेता उन सैन्य रणनीतिकार हुनुहुन्छ । उहाँले सैन्य मार्गनिर्देश गर्दै आउनुभएको छ ।’ तर, भर्खर २५ वर्ष नाघेको अनुमान गरिएका नेता उनलाई धेरैले अपरिपक्व नेताका रुपमा लिने गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया