विद्यार्थीमाझ “गजुरियल जोक”

‘एसएलसी पास गर्ने बेलासम्म वर्षको एउटा स्कुल फेरे पनि दस वर्षमा दसवटा हुनुपर्ने हो, तर मैलेचाहिँ ११ वटा फेरेँ,’ हास्यव्यंग्य कलाकार मनोज गजुरेलले गफको मेलो झिके । वरिपरि जेभियर इन्टरनेसनलका विद्यार्थीले घेरिरहेका थिए । विद्यार्थीबाट बर्सिने एकएक प्रश्नको उत्तर हँसाएरै दिन खप्पिस गजुरेल ट्वाल्ल परेर हाँसिरहेका विद्यार्थीलाई सम्झाउँदै पनि थिए, ‘मेरो जोक रियल हो है, त्यसैले मेरा जोक गजुरियल जोक ।’
राजधानीमै हुर्केका कतिपय विद्यार्थीलाई मनोज गजुरेलका पहाडी भोगाइहरू रोचक लाग्नु स्वाभाविकै हो । ताप्लेजुङ हुँदै झापासम्मका आफ्ना जीवनका पुराना भोगाइ नयाँ पुस्ताका तन्नेरीसामु पोख्दै थिए उनी । ‘तपाईंको पहिलो स्टेज प्रस्तुति सम्झना छ ?’ जेभियरका १२ कक्षाका छात्र क्षितिज चापागाईंले सोधिहाले । झापामा स्कुल पढ्दा प्यारोडी गीत गाएका रहेछन् स्टेजमा उनले । ‘कक्षा आठतिर पढ्दा होला त्यो, त्यसअघिको कुराचाहिँ हेक्का छैन, सिग्नल क्लियर छैन के †’ गजुरेलले फेरि हँसाए । ‘अनि प्रेरणा नि ?’ ए लेभल पढ्दै गरेका अनिश अर्यालले अर्को प्रश्न फ्याँके । ‘सानै हुँदा घरमा पूजा लगाउँदा पाहुना टन्न आएका थिए, मध्य रात थियो, म पिँडालुको घारीमा लुसुक्क पसेर सर्पले भ्यागुता खाएको आवाज निकाल्न थालेँ, अनि सबै डराएछन्,’ उनको भनाइले सबै विद्यार्थी गलल हाँसे, ‘अँ, अनि आमाले घारीतिर हानेको ढुंगो मेरो टाउकामा ड्याम्म लाग्यो र म रुँदै निस्केँ, पछि आमाले बदमास भन्दै गाली गर्न थाल्नुभयो तर अरू पाहुनाले यसमा केही प्रतिभा छ भन्दै उक्साउन थाले ।’ गजुरेल कमेडी फ्ल्यासब्याकबाट बाहिर निस्किए र भने, ‘त्यो नै मेरा लागि प्रेरणा थियो ।’
कलेज पढ्दै गर्दा गजुरेलका पनि अरू धेरै युवाका जस्तै सपना थिए । ०४७ सालमा एसएलसी पास गरेपछि राजधानीको आरआर क्याम्पसमा भर्ना भएछन् । पत्रकारितामा स्नातक गजुरेलले त्यसपछिको पढाइ के गरे त ? ‘अरूले जम्मा दुई वर्ष लगाएर मास्टर्स गर्छन्, सबैभन्दा धेरै समय लगाएर मास्टर्स गर्नेचैँ मै हुँलाजस्तो छ, दस वर्ष भइसक्यो अझै पूरा भ’को छैन,’ उनले सुनाए । एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण गरेका गजुरेल अरूलाई पनि जिन्दगीमा दोस्रै हुन सुझाब दिँदै थिए । पहिलो भएपछि त्यसलाई टिकाइराख्ने दायित्वदेखि अनेकौँ तनाबको मुक्ति हो रे दोस्रो बन्नु । आफूलाई कलाकारिताको क्षेत्रमा पनि दोस्रै भन्न मन पराउँछन् उनी । अनि पहिलोचैँ को त ? ‘पहिलो त करोडौँमा एक हुन्छ, जुन निकै कठिन छ,’ उनको गजुरियल टिप्पणी ।
स्टेज कार्यक्रममा राम्रै जम्थे रे उनी कलेज लाइफमा । कलेजमै पनि प्रशंसक धेरै थिए रे † ‘ठिटीहरू कत्तिको पछि लाग्थे नि ?’ एउटा कुनाबाट प्रश्न तेर्सियो । ‘मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ,’ गजुरेलले गीतको टुक्रालाई उत्तर बनाए । ‘अनि लभलेटर ?’ फेरि अर्को प्रश्न ।  ‘अँ, आयो पनि गयो पनि, पूरै एक कापी लेखेर बुझाइयो हौ,’ गजुरेलको उत्तर सुनेर विद्यार्थी हाँसेको हाँस्यै छन् । ‘अनि लभ म्यारिज कि एरेन्ज म्यारिज त ?’ विद्यार्थी लक्ष्मी प्याकुरेलले सोधिहालिन् । मनोजको शैली उस्तै हँस्यौली छ, ‘लभ हो, ६ महिना नि लागेन एरेन्ज हुन ।’
एउटा विद्यार्थीले सामान्यझैँ लाग्ने गहन प्रश्न फाले, ‘जीवन के हो ?’ गायक रामेशको ‘जीवन संघर्ष हो…’ गीत गुनगुनाए गजुरेलले । सोधे, ‘यो गीत सुन्नुभएको छ ?’ विद्यार्थीले ‘छैन’ को संकेत दिँदै टाउको हल्लाए । अनि गजुरेलले व्यंग्य ठोके, ‘मुन्नी बदनाम हुई नि ?’ विद्यार्थी रातापिरा भए ।
टिपिक्क मिलेको युनिफर्ममा टाई झुन्ड्याएर निश्चित अनुशासन र नियमभित्रको निजी कलेजमा पढिरहेका विद्यार्थीका प्रश्न कलाकार मनोज गजुरेललाई निर्दोष अनि स्वाभाविक लाग्दै थिए । सोधियो, अहिलेको कलेजका विद्यार्थीका मनोविज्ञान र क्रियाकलापसँग नीतिनिर्माता र नेतृत्वको समीकरण मिल्छ ? ‘अहँ मिल्दैन,’ उनले भने । नयाँ पुस्ताको मनोविज्ञान र आवश्यकताअनुरूपको शैक्षिक प्रणाली र संरचनाले मात्र देशमा दक्ष जनशक्ति उत्पादन गर्न सक्ने धारणा थियो उनको । युवाशक्तिलाई विदेश पलायन हुन नदिन राज्यले विचार गर्नुपर्ने बताए । विद्यार्थीलाई पनि देशलाई माया गर्न सुझाब दिए । अनि गुनगुनाए–
‘…हर्के हल्यान्ड, नेत्रे नेदरल्यान्ड
मै मोरोलाई प्यारो लाग्छ मेरै मदरल्यान्ड… ।’

प्रतिक्रिया