डोल्पालीको मन जित्दै

‘आफूसँगै बसोस्, पढेर राम्रो जागिर खाओस् अनि हामीलाई पनि हेरोस् ।’ यस्तै कामना गरेका हुन्छन् प्राय: बाबुआमाले, छोराछोरीका बारेमा । तर, छोरो नै घरका सारा कुरा छाडेर बेखबर भयो भने कस्तो होला बाबुआमाको मन ? कतिले त छोराप्रतिको स्नेह वितृष्णामा बदल्लान् तर विनोद शाही (नेवा:)प्रति भने बाबुआमाको मात्र होइन, धेरैको मन पलाएको छ ।
सात वर्षअघि घर छाडेर हिँडे अनि यस्तै अवस्था भोगे/भोगाए राजधानीको मुटुमा जन्मिएका शाहीले । २०३८ फागुन ११ गते जन्मिएका उनलाई घरमा नपुग्दो केही थिएन । भरुङखेलमा जन्मिएका उनले भक्तविद्याश्रमबाट प्रवेशिका पास गरेर पब्लिक युथ क्याम्पसबाट आइकम–बिकम सके । ललितकलाबाट फाइन आर्टमा बिएफए गर्दै थिए । एकाएक उनी राजधानी त्याग्न तयार भए । उनले भने, ‘म पढ्दै थिएँ । तिब्बती दिदी लाप्साङले मलाई पढाउन भन्नुभयो ।’ डोल्पाबाट राजधानी ल्याइएका विद्यार्थीलाई शाहीले सिएलसी संस्थाको भोलेन्टिएर भएर पढाएछन् ।
डोल्पामा जाडो बढेपछि त्यति बेला हिउँदका ६ महिना त्यहाँका केही विद्यार्थीलाई संस्थाले राजधानीमा राखेर पढाउँदो रहेछ । ‘मैले विद्यार्थी पढाउन थालेँ, उनीहरू अर्कै ग्रहमा पुगेको जस्तो गर्थे । हामी शिक्षकचाहिँ कक्षामा जानुपर्नेमा उनीहरू नै सिलपाटी र किताब समातेर हामी भएतिर दौडन्थे’, शाहीले थपे, ‘साइकल, गाडी देख्यो भने जादूजस्तै ठान्ने, प्लेन उड्यो भने उतै एकोहोरिने ।’ आफ्नै भूमिको अर्को किनारमा बस्ने ‘भाइबहिनी’को यो अन्जानपनले उनलाई छोएछ । मान्छेको मन न हो, कति बेला कता मोडिन्छ, पत्तै हुँदैन । शाहीको मन पनि मोडियो ।
सन् २००५ मा उनले बुद्ध बन्नका लागि नभई डोल्पाली भाइबहिनीको शिक्षाका लागि घर त्याग्ने सोच बनाए । ‘म पढाइमा अब्बल थिएँ, घरमा सबैको प्यारो,’ शिक्षाका अभियन्ता शाहीले भने, ‘राजधानी छाडेर दुर्गम बस्न जान्छु भन्दा सजिलै कसले स्विकार्छन् र ?’ त्यतिबेला अवस्था पनि फरक थियो । युद्धकालमा मानिस सहर पस्दै थिए । अवसर खोज्न राजधानी आउने क्रम निरन्तर थियो । तर, शाही जिद्दी गरेर डोल्पा हानिए ।
डोल्पा पुग्न सजिलो रहेनछ भन्ने कुरा उनले हिँड्दै जाँदा थाहा पाए । बाटोमा बिमारी परे । हिउँले पोल्यो । लेउ लाग्यो । शाहीले भने, ‘जति हिँड्यो मान्छे नै देखिन्न, छ्यासमिस गाउँ पनि भरखरै युद्ध सकिएको बस्ती जस्तो †’ तिनै बस्तीमा आज विनोदको लक्ष्य फक्रिँदै गएको छ । सरकारी तलब खाएर कहिल्यै नखुल्ने विद्यालयमा अचेल पढाइको लहर सुरु भएको छ ।
हिजो छोरा डोल्पा जाँदा रोएकी आमा सुनकेशरी शाही आज छोराको अभियानकी एक सदस्य बनेकी छन् । उनले हरेक दिन दूधचिया खाने २३ रुपियाँ छोराको अभियानका लागि छुट्याएर फिका चिया खान थालेकी छन् । ‘मेरी आमाले फिका चिया खाएर हरेक दिन छुट्याएको २३ रुपियाँ मेरा लागि ऊर्जाको अपार स्रोत हो ।’ हिजो ‘रोम्बा’ (बिरानो मान्छे) भनेर चिनिने विनोद आज डोल्पावासीका ‘मिनी बुद्ध’ भएका छन् । कुनै दिन कसैले विश्वास नगर्ने, हेपाइ खानुपर्ने अवस्था भोगेका विनोद आज डोल्पालीको प्रिय भएका छन् । विनोदले डोल्पालीमाझ यो लोकप्रियता आर्जन गर्न कम्ती सकस र पसिना बगाउनु परेन । असाध्यै ‘वाइल्ड’ जनजीवन भएको डोल्पालीको विश्वास जित्न उनले घन्टौँ टाढाको बाटो हिँडेर उनीहरूका बालबालिकालाई औषधि, भिटामिन ‘ए’, पोलियो थोपा खुवाउन सघाए । डोल्पाको थिन्ले गाउँको बन्द सेलरिडुक्डा प्राविमा शिक्षक भएर काम गरे । काठमाडौंमा भएका आफ्ना साथीलाई फुर्सदको समयमा गफ गर्नुभन्दा ‘डोल्पालीलाई शिक्षित बनाउने’ आफ्नो अभियानलाई सघाउन अनुनय गरे । साथीहरूले राजधानीमा बसेर कापी, किताब र कलम संकलन गरे ।
राजधानीका लुगाफाटो संकलन गरेर डोल्पा उडान भर्ने प्लेनमार्फत त्यहाँ झिकाएर स्थानीय विद्यार्थी र अभिभावकको मन जिते । घुम्दै जाँदा एक दिन विनोदले सालडाँडापूर्वको कोमाङ गाउँमा टेके । ३०/४० घर भएको गाउँबाट विद्यालय एक दिनको पैदल दूरीमा थियो । त्यहाँ विद्यार्थी धेरै । उनले सोचे, ‘यहाँ स्कुल खोल्नुपर्छ ।’ अनि हिमालय धालारोङ प्राविको जन्म गराए, सन् २००९ मा । शुक्रबार र शनिबार आफू तथा अन्य दिन एक जना शिक्षक राखेर त्यो स्कुल सञ्चालन गराए । एक दिन यस्तो आयो, शिक्षकलाई तलब खुवाउनै सकिएन । ‘आमाले गहना दिनुभयो, त्यही बेचेर ५० हजार तिरेँ,’ शाहीले भने ।
अरूले नै गरिदेला भन्ने मानसिकतामा रहेका कारण हामी नेपाली सिर्जनशील हुन नसकेको उनको ठम्याइ छ । ‘नेपालको विकासका लागि विदेशीको सहयोग लिनुहुन्न’ भन्ने मान्यता राख्छन् । त्यसो भए उपाय के त ? ‘हामीले अलिकति मितव्ययिता अपनाउनुपर्छ, दालभातले हुन्छ भने मासु किन खाने ?’ उनले भने, ‘त्यो पैसा बरु आर्थिक स्तर कमजोर भएकाको पढाइमा खर्च गर्ने ।’ त्यही मान्यतालाई व्यवहारमा उतार्दै जाँदा उनले राजधानीवासी साथीहरूकै सहयोगमा निजार गाउँमा यक्षेर प्रावि पनि सञ्चालन गरिसकेछन् । उनी भन्छन्, ‘यो मेरो कर होइन रहर हो, मेरो अभियान विद्यालय खोल्ने मात्र होइन, शिक्षित बनाउने पनि हो ।’ अहिले विनोदलाई डोल्पा बिरानो लाग्दैन, बरु राजधानी आएपछि कहिले फर्कौं भन्ने पिरले सताउँछ रे ।
विनोदलाई कुनै दिन ‘बिरानो परदेशी’ भन्ने डोल्पालीहरू अचेल ‘लामा’ नै भन्दा रहेछन् । उनले भने, ‘मैले कर्म नगरेको भए यो माया कहाँ पाउँथेँ र ?’ कहिले लत्ताकपडा, कहिले किताबकापी त कहिले च्यारिटी सो र आफैँले गरेको आर्ट बेचेर पैसाको जोहो गर्ने विनोद यति बेला पनि त्यही अभियानमा राजधानी आएका छन् । उनलाई अलि–अलि दु:ख पनि लाग्छ, ‘डोल्पाको माटोमा मिसिन थाल्दा परिवारको जिम्मेवारी पूरा गर्न सकिनँ कि ?’

प्रतिक्रिया