महिलाको असन्तुष्टि

काठमाडौं : नयाँ संविधानमा मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गर्न प्रमुख दलहरू सहमत भएपछि महिला अधिकारकर्मी असन्तुष्ट बनेका छन् । जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुने गरी मात्र मिश्रित प्रणालीमा जानुपर्ने उनीहरूको माग छ ।
राष्ट्रिय महिला आयोगमा बिहीबार भएको कार्यक्रममा अन्तरपार्टी महिला सञ्जाल, महिला आयोग, महिला सभासद् समूह ककसलगायत महिला अधिकारकर्मी संघसंस्थाका प्रतिनिधिले यस्तो असन्तुष्टि जनाएका हुन् । ‘दलहरूको निर्णयमा हाम्रो गम्भीर आपत्ति छ,’ महिला सभासद् समूहकी संयोजक कल्पना राणाले भनिन्, ‘यस्तो निर्वाचन प्रणालीले पछाडि परेका समुदायको हित गर्दैन ।’ यसका लागि सहमतिलाई सच्याएर जनसंख्याका आधारमा समानुपातिक रूपमा अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
दलहरुबीच ५५ प्रतिशत प्रत्यक्ष र ४५ प्रतिशत समानुपातिकसहितको मिश्रित प्रणालीमा सहमति जुटेपछि उनीहरू असन्तुष्ट छन् । (सौस)

प्रतिक्रिया