चलचित्र मन नपराउने मोडल

काठमाडौं, १४ वैशाख । उम्दो उमेरमा रंगीन दुनियाामा प्रवेश गरेकी छन् मनिता ढुङ्गेल । यो दुनियाालाई उति राम्रो नजरले हेर्दैन समाज अझै पनि । तर, उनलाई कुनै परबाह छैन । २२ वर्षीया मनिता भन्छिन्– ‘घरपरिवारले ‘सपोर्ट’ गरेकै छन्, अरूको मतलब छैन पनि ।’
बालज्योति माविबाट एसएलसी पास गरेर राजधानी छिरेकी उनी शिव परियारले गाएको ‘पागल बनायौ प्रिय’ गीतको भिडियो खेलेर चर्चामा आएकी हुन् । योसहित आफैंले मोडलिङ गरेको रोज मोक्तानको ‘नेपाली–नेपाली’ बोलको गीत खुबै मनपर्दो रहेछ उनलाई ।
पढाइमा अब्बल ठानिने मनिता हाल एनआइसी कलेजमा बिबिएस प्रथम वर्षमा अध्ययन गर्दैछिन् । आफूलाई कलाकारभन्दा इमान्दार विद्यार्थी भन्न रुचाउँदी रहिछन् । भनिन्, ‘मलाई आमाबुवाले पढ्न भनेर पठाएका हुन्, त्यसैले पहिला त म विद्यार्थी नै हुँ ।’ रंगकर्ममा किन पसेकी त ? भन्दा उनको सजिलो जवाफ छ,‘म सानैमा स्कुल कलेजमा हुने डान्स प्रोग्राममा सरिक हुन्थेँ । यो मेरो रुचि मात्रै हो ।’
नेपाली फिल्मी क्षेत्रको भविष्य सुन्दर नभएको लख काटेकी मनिताले नायिकाको ‘अफर’ आएर पनि आफूले नगरेको दाबी गरिन् । भविष्य कमजोर देखेर मात्रै होइन, फिल्मकी नायिका भैसकेपछि स्तर ‘मेन्टेन’ गर्न गाह्रो हुने देखेर उनी फिल्ममा हाम नफालेकी रे † रंगकर्ममा नायिका वा मोडलप्रति आशक्तिको दृष्टि राखिन्छ भन्ने सुनेकी मनिताले त्यस्तो भोगेकी भने छैनन् रे । यसमा त अड्डी नै कसिन् उनले– ‘सांगीतिक भिडियो र फिल्ममा खेल्ने नायिका र मोडेलहरू शारीरिक रूपमा चिप्लिन्छन् भन्ने सुनेकी छु । मैले भोग्नु र देख्नुपरेको छैन ।’
मनितालाई राजधानीको एउटै कुरा मनपर्दो रहेछ, ‘कसैलाई कसैको वास्ता नहुनु ।’ जीवनमा पछि गएर सरकारी जागिरे बन्ने सोचसपना भएकी मनिता जागिर पाए राजधानीभन्दा आफ्नै गाउँमा फर्कन आतुर छिन् । राजधानीको प्रदूषणदेखि दिक्काएकी उनलाई एकपटकका लागि कसैले महिलामन्त्री बनाइदिए, ‘अवसर भएजति ठाउँमा एकपटक महिलाहरूलाई भर्ने’ मन रहेछ ।
झन्डै एक दर्जन सांगीतिक भिडियोमा काम गरिसकेकी मनिता पढाइ नबिग्रने र स्तर कायम राख्नसक्ने अवस्था देखेमा फिल्ममा प्रवेश गर्ने बताउँछिन् । अहिले नै विवाहको सोच नबनाइसकेको बताउने उनी आफूलाई बुझ्ने श्रीमान्का लागि कलाकारिता नै छोड्नुपरे कुनै आपत्ति नहुने दृढता व्यक्त गर्छिन् ।

प्रतिक्रिया