०३१ सालको एसएलसीको रिजल्ट आउनै आँटेको थियो । अहिलेका शिक्षासचिव किशोर थापालाई कौतूहल थियो– परिणाम के आउला ? रेडियोले बोर्ड फस्र्टमा उनको नाम उच्चारण गर्यो । उनको खुसीको सीमा नै रहेन । उनले सम्झिए, ‘त्यसपछि त मेरो पनि सामाजिक हैसियत बढेको थाहा पाएँ ।’
०१६ सालमा काठमाडौंको चोभारमा जन्मेका हुन् उनी, बुबा कर्णबहादुर र आमा आमी थापाका सन्तानका रूपमा । त्यति बेलाको ब्याचका २८ हजार समकक्षीलाई उछिनेर बोर्डफस्र्ट भएका थिए उनी । त्यति बेलाको पढाउने शैली सम्झिए, ‘परीक्षामुखी पढाइ थियो, अहिले सिकाइमुखी भएको छ ।’ पढ्यो भने राम्रो जागिर पाइन्छ भन्ने मान्यता थियो रे । सम्झिए, ‘पाठ्यक्रम जतिसुकै अव्यावहारिक भए पनि पढ्नै पर्यो । पाठ्यक्रममा भारतको भूगोल पढ्नुपथ्र्यो, जुन हामीलाई आवश्यकै थिएन ।’
शिक्षासचिव भएको चार महिना भएछ । उनका योजना के छन् त ? ‘मैले भोगेको जस्तो शैक्षिक वातावरण अबको पुस्ताले भोग्न नपरोस्,’ भन्छन्, ‘हामी अहिले पनि २०२८ सालकै शिक्षानीतिमा आधारित छौँ । यसमा आमूल परिवर्तन आवश्यक भइसक्यो । मुलुकमा यति ठूलाठूला परिवर्तन हुँदा पनि शिक्षानीतिचाहिँ परिवर्तन नभएको देख्दा उदेक लाग्छ,’ थप्छन्, ‘केही गर्नुपर्छ भनेर नै यहाँ आएको छु ।’
शिक्षाका समस्या समाधान गर्न आतुर रहेको सुनाए उनले । भन्छन्, ‘नयाँ बन्ने संविधानका मैलिक हक तथा राज्यका निर्देशक सिद्धान्तअनुसार नै हामीले शिक्षानीति बनाउने हो । संविधान निर्माण भइसकेपछि मात्र गर्न सकिने कामबारे मन्त्रालयमा गृहकार्य भइरहेको छ ।’ अब बन्ने शिक्षानीतिलाई ‘गरिखान पाउने किसिमको’ बनाउने तयारीमा रहेछन् उनी, जसमा विशुद्ध नयाँपन हुनेछ । ‘पुरानो भन्दा स्वाभाविक रूपले नयाँपुस्ता चलाख हुन्छ र हुनु पनि पर्छ’, उनको तर्क छ, ‘अहिलेका विद्यार्थीमा प्रविधिका बारेमा ज्ञान बढ्दै छ, त्यो राम्रो कुरा हो ।’
एसएलसीमा राम्रो नम्बर ल्याउने जोसुकैको चाहना मेडिकल साइन्स पढ्ने हुन्थ्यो रे त्यति बेला । सबैका परिवार त्यस्तै चाहन्थे । तर, थापालाई भने त्यस्तो कुनै पारिवारिक दबाब रहेनछ । ‘मलाई मेरो परिवारले कहिल्यै दबाब दिएन, आफ्नै इच्छाबमोजिम आइएस्सी पढेँ,’ इन्जिनियरिङ हुँदै निजामती क्षेत्रमा प्रवेश गरेका थापाले सुनाए । अस्थायी शिक्षकहरूको आन्दोलन उनले मन्त्रालय सम्हालेपछिको महत्त्वपूर्ण घटना हो । ‘नयाँ शिक्षानीतिमा पनि त्यो आवश्यक थियो, जुन हामीले समाधान गरिसक्यौँ’ भन्छन् । जुनसुकै देशको शिक्षानीति त्यो देशको माटो सुहाउँदो हुनुपर्ने उनको मान्यता छ, ‘नेपालको महत्त्वपूर्ण राजनीतिक परिवर्तनपछाडि नै शिक्षानीति परिवर्तन आवश्यक थियो । त्यही नभएका कारण कतिपय समस्या बल्झिरहेका छन् ।’
समाजमा मानवता र भ्रातृत्वको भावना कम हुँदै गइरहनु उनलाई बिझ्ने अर्को कुरो हो । त्यसैले त मानिसलाई विद्यार्थीकालदेखि नै यस्ता भावना उत्प्रेरित गर्ने खालको पहल शिक्षाक्षेत्रबाटै हुनुपर्ने बताउँछन् । अबको पाठ्यक्रममा यस्ता विषय पनि अनिवार्य राख्नुपर्ने सोचाइमा उनी छन्, ‘यो सबैभन्दा आधारभूत र प्रभाव पार्ने विषय हो ।’
उनका अनुसार मन्त्रालयमा अहिले पनि विगतका शिक्षानीतिको समीक्षा भइरहेको छ । मन्त्रालयस्तरका र सरोकारवालासँग छलफल चलिरहेको छ । विज्ञहरूबाट सुझाब र धारणा लिने काम भइरहेको छ । वैशाखमा विद्यालय भर्ना अभियान चलाएर मात्र शैक्षिक लक्ष्य हासिल नहुने उनले महसुस गरेका रहेछन् । भन्छन्, ‘विद्यालयमा भर्ना भएपछि विद्यार्थीलाई टिकाउने उपायबारे हामी नीति बनाउँछौँ,’ उनले दोहोर्याए, ‘सदाचार, भ्रातृत्व र मानवतालाई नेपाली संस्कार बनाउने शिक्षानीति ल्याउनु मेरो लक्ष्य हो ।’
प्रतिक्रिया