पुस्तकले धानेको जीविका

सिंहदरबारको मुख्य गेटबाहिरको सडक । दिनभरि गाडी र पैदलयात्री खचाखच हुन्छन् । मिर्मिरे बिहान, दिउँसोको टन्टलापुर घाम होस् वा सूर्यास्तको गोधूलि, सधैँ लमतन्न परिरहेछ सडक, मान्छेहरूलाई पुतलीसडक, भद्रकाली वा माइतीघर पुर्‍याउन । मान्छेहरू यति हतारमा छन् कि सबै जना एकअर्कालाई उछिन्ने सुरमा छन् । त्यही भिडभाड र ओहोरदोहोरसँगै हस्तबहादुर थापाका किताबहरू सडकको धुलो खाइरहेका छन् ।
सिसावाल पसलमा पुगेर खोजेजस्तो किताबबारे सोध्ने रवाफ बोकेका छन् सहरका मान्छेले । यस्तै कुनै रवाफिलाले किताबको भाउ सोधेर हस्तबहादुरलाई ‘भाउ’ देलान् त ? वास्ता गर्ने उति धेरै हुँदैनन् तर उनी दु:खी छैनन् । तिनै किताबमा पलपल खुसी अनुभूति गरिरहेछन् । भन्छन्, ‘चाहिएका मान्छे खोजीखोजी आउँछन् । नकिन्नेहरूले पनि हेर्न त पाई नै हाल्छन् । व्यापार होला/नहोला † तैपनि यी किताब मेरा खुसी बाँड्ने सहयात्री हुन् ।’
सडकछेउ पेटीमा किताब लहरै राखिएका छन्, प्राय: सबै बूढो रूखका बोक्रा उप्किएझैँ देखिन्छन् । तैपनि छेउछाउका मान्छेलाई आकर्षण गर्न सकिन्छ कि भनेजसरी हेरिरहेछन् । स्याङ्जाका थापा यिनका मालिक हुन् । जो पेटीको छेउमा बसेर बिक्री हुन नपाएका किताबसँग भलाकुसारी गरिरहेछन् ।
बागबजारमा बस्दै आएका उनी पढाइका सिलसिलामा काठमाडौं झरेका थिए । सरस्वती क्याम्पसलाई आफ्नो भविष्य बनाउने जिम्मा दिएका उनको अध्ययन आइएमै अड्कियो । ५५ सालले उनलाई अध्ययनबाट छुटायो । ‘आर्थिक अभावका कारण आइए क्लिएर गर्न सकिनँ,’ उनले दुखेसो पोखे । भाग्यले पाठ्यक्रमभित्रका किताबसँगको शैक्षिक सम्बन्ध छुटाइदिएका उनी किताबसँगै नजिकिइरहेका भने छन् । यसैमा भविष्य कोरल्दै छन्, ‘सानो व्यापारी’ का रूपमा ।
विगत डेढ वर्षदेखि यिनै नयाँ–पुराना किताब बेच्दै छन्  । १४ वर्षपहिला निमा प्रकाशनमा काम गर्थे रे । भने, ‘पेट भर्न काम गर्नुको विकल्प रहेन, काममा लाग्दा पढाइ पूरा गर्न सकिनँ ।’ ३५ वर्ष पुगे, अहिलेसम्म कमाउनकै लागि तड्पिइरहेछन् । अवस्था पहिलेजस्तो त छैन, तैपनि गतिलै कमाइ गर्न भने सकेका छैनन् । घरमा बुबा, आमा, दाजुभाइ, दिदीबहिनीलाई पनि हेर्नु छ उनले ।
त्यसो त जिन्दगीले उनलाई कुनै बेला सडकमै सुताएको छ, भोकै पनि राखेको छ । कुनचाहिँ छाक उनका लागि लेखिएको हो, टुंगो थिएन । अहिले उनीसँग श्रीमती र छोराछोरी छन् । छोरी सातमा अनि छोरा पाँचमा पढिरहेका छन् । श्रीमती सानो जागिर गर्छिन् रे † ‘मेरो यस्तो परिवार होला, यसरी भए पनि जिन्दगी चल्ला भन्ने सोचेकै थिइनँ’, सन्तुष्टि सुनाए, ‘भाग्यले मान्छेलाई आफैँ डोहोर्‍याउने रहेछ, सुख भन्ने कुरा अनुभूतिमा भर पर्दो रहेछ ।’
किताब बेच्ने काम अरूभन्दा सम्मानित लाग्दो रहेछ उनलाई । ‘अरू काम गर्दा पैसा कति हुन्थ्यो थाहा छैन, किनकिन यही पेसा सम्मानितजस्तो लाग्यो, यसैमा लत बसेछ,’ गर्व छ उनलाई । प्रकाशनमा काम गरेकाले यसैबारे धेरथोर जानेका पनि होलान् । १० हजार रुपियाँबाट सुरु गरेको व्यापारलाई कनीकुथी डेढ लाख रुपियाँजतिको पुर्‍याएछन् । किन्ने पैसा नभएर साथीको किताब मागेर पढ्नुपर्दा निकै कुँडिन्थे उनी उति बेला । यी किताबका लहरले उनलाई ती दिन बारम्बार सम्झाइरहन्छन्, झस्काइरहन्छन् ।
यस्तो व्यापारमा नाफाघाटाको ठेगान नहुने उनको अनुभवले बताउँछ, ‘दिनमा कहिले १२/१५ सय पनि हुन्छ, कहिले दुई सय पनि हुँदैन ।’ सडकपेटीका यी कागजी लहरमा उपन्यास, कथा, निबन्ध तथा नयाँ–पुराना कोर्सका किताब देखिन्छन् । कुल मूल्यको २०/३० प्रतिशतमा पुराना किताब खरिद गर्ने अनि आफूलाई अलिअलि नाफा राखेर बेच्नु उनको व्यवसाय हो । ४६ सालदेखिका किताब पनि रहेछन् त्यहाँ । किताब हेरेर ५० प्रतिशतसम्म छुटमा पनि बेच्ने गरेका रहेछन् ।
किताब अनि उनको व्यवसायमाथि पर्ने नजर अनेकौँ हुन्छन् । कोही रमिता हेरेर मन बहलाउँछन्, कोही सस्तोमा किनेर लैजान्छन् । हेर्नेहरूका टीकाटिप्पणी पनि अनेकौँ नै हुन्छन् । ‘कतिपयले यो व्यवसाय राम्रो हो, नछोड भन्छन्, कसैले चाहिँ थोत्रा किताब किन राखेको भन्दै होच्याउँछन्’, उनले सुनाए, ‘नराम्रो भनेको सुन्दा मन त दुख्छ तर किताबको महत्त्व नबुझ्नेहरूले नै यस्तो भन्ने हुन् भन्दै चित्त बुझाउँछु ।’ जसले जसरी बुझे पनि किताबसँगको सम्बन्ध बाँचुन्जेल नतोड्ने सोचेका छन् उनले ।
कलेजमा किताब पढ्ने हैसियत नभएका उनी अहिले प्रत्येक दिन किताब पढ्छन् ।  किताबको मोह उनमा निमामा काम गर्दैदेखि जोडिएको थियो । ‘अहिले त झन् लतै लागेछ, किताब नपढी निदै्र पो नआउने भएछ’, यसो भन्ने यी व्यापारीलाई मन पर्ने पुस्तकचाहिँ ‘मयूर टाइम्स’ रहेछ । तीनपटकसम्म दोहोर्‍याएर पढेका छन् अरे † कर्ण शाक्यको ‘सोच’ पनि उनलाई पढ्न मन लागेको किताब हो तर पढ्न पाएका रहेनछन् । यो किताब उनको पसलमा छैन । भन्छन्, ‘नयाँ किनूँ भने बजेट पुग्दैन । सेकेन्ड हेन्डमा आयो भने त पढेरै छाड्छु ।’

प्रतिक्रिया