बादीमहिलाको कथा चलचित्रमा

काठमाडौं : बादी समुदायभित्रका महिलाका पीडा चलचित्रमा समेटिएको छ । सम्पादनको अन्तिम चरणमा रहेको चलचित्र मेरो कथामा उनीहरूको पीडा समेटिएको हो । भिजन नेपाल फिल्म्स एन्ड इन्टरटेन्मेन्ट प्रालिद्वारा निर्मित चलचित्रमा नन्दा बस्याल, अशोक धिताल, डम्बर उपाध्याय, प्रेम थापालगायतको मुख्य भूमिका छ ।
सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत चितवन आसपास छायांकन गरिएको चलचित्रको निर्देशन देव नेपालले गरेका छन् । सो क्षेत्रमा प्रचलित ठाडी र टीकाराजजस्ता मौलिक भाकाका गीत राखिएको चलचित्रमा बिबी अनुरागीको संगीत तथा रवीन्द्र बरालको छायांकन, द्वन्द्वनिर्देशन एवं निर्माण छ । चलचित्रलाई वास्तविक बनाउन कैलालीका विभिन्न बादी बस्तीमा गएर दुई महिनासम्म अध्ययन गरिएको निर्माता रवीन्द्रले बताए । ‘बादी बस्तीका समस्या सबैलाई बुझाएर समाधानका लागि सम्बन्धित निकायलाई दबाब सिर्जना होस् भनेर यो चलचित्र बनाएका हौँ,’ उनले भने । भिजन नेपालको ब्यानरमा डिजिटल प्रविधिमा निर्मित चलचित्र आगामी जेठमा सार्वजनिक प्रदर्शन गरिने उनले बताए ।

प्रतिक्रिया