औलो ५० प्रतिशतले घट्यो

काठमाडौं : औलो रोग र यसबाट हुने मृत्युदरलाई ५० प्रतिशतभन्दा बढी घटाउन नेपाल सफल भएको छ । नेपालमात्र होइन दक्षिण–पूर्वी एसियाका पाँच देश १२ वर्षको अवधिमा औलोबाट हुने मृत्युदर ५० प्रतिशत घटाउन सफल भएका हुन् ।
विश्व स्वास्थ्य संगठनले पाँचांै विश्व औलो दिवसका अवसरमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आधाभन्दा बढी औलो रोग घटाउन सफल राष्ट्रमा नेपालसहित भुटान, दक्षिण कोरिया, श्रीलङ्का र थाइल्यान्ड छन् । भारतमा भने जम्मा २१ प्रतिशत मात्र घटेको संगठनले जनाएको छ । ‘प्रति एक हजार जनसंख्यामा दक्षिण–पूर्वी एसियाली देशहरुले औसतमा २७ प्रतिशत औलो रोग घटाएका छन,’ प्रतिवेदनमा भनिएको छ, ‘सन् २००० मा प्रति एक हजारमा ३० वटा औलो समस्या देखिने गरेकामा सन् २०१० सम्म यो संख्या २२ जनामा झरेको छ ।’ संगठनमा दक्षिण–पूर्वी एसियाका ११ राष्ट्र सदस्य छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. जिडी ठाकुरले छोटो समयमै औलो नियन्त्रणमा उल्लेख्य प्रगति भएको बताए । उनका अनुसार सन् २०१६ सम्ममा नेपालले औलो रोगका प्रमुख सूचक मानिने वार्षिक परजीवी दरलाई प्रतिहजारमा एकभन्दा कमबाट बढ्न नदिने लक्ष्य छ । (सौस)

 

प्रतिक्रिया