‘कोचिला राज्यबाट पछाडि हट्दैनौं’

काठमाडौं, १३ वैशाख । एकीकृत माओवादीका पोलिटब्युरो सदस्य हरिबोल गजुरेलले झापा, मोरङ र सुनसरीलाई कोच प्रदेश बनाउने पार्टी निर्णय कार्यान्यन हुनैपर्ने बताएका छन् ।
‘ऐतिहासिक पहिचानलाई कायम राख्न तीन जिल्ला मिलाएर कोचिला स्वायत्त प्रदेश निर्माण गर्ने निर्णय एमाओवादीको पाँचौं विस्तारित बैठकले गरेको हो,’ गजुरेलले राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा भने, ‘कोचिला एउटा भूगोल हो, विभिन्न जातीय, भाषिक, सांस्कृतिक समुदायको समिश्रण रहेको कोच राज्यलाई जातीय रुपमा हेरिनु हुँदैन ।’
एमाओवादी १४ प्रदेशकै पक्षमा रहेको र त्यसमा तलमाथि नभएको पनि उनले बताए । ९, १० प्रदेशमा सहमति हुन सक्ने पनि उनले औंल्याए ।
पार्टीको मोहन वैद्य समूह शान्ति र संविधान विरोधी भएको आरोप गजुरेलको छ । ‘वैद्य समूहले शान्ति पनि चाहेको थिएन, अब संविधान पनि चाहेको छैन,’ उनले भने, ‘हामीलाई राष्ट्रघाती भन्नेहरु नै आफैं राष्ट्रघाती हुन् ।’
कार्यक्रममा संघीयता कार्यान्वयन सम्बन्धी कोचिला संघर्ष समितिका संयोजक एवं एमाओवादीका सभासद्  पूर्णसिंह राजवंशीले कोचिला राज्यका निम्ति आफूहरु सशक्त संघर्षमा लाग्ने बताए ।
कोचिला स्वायत्त प्रदेशको मागमा गृह राज्यमन्त्री भीमराज राजवंशी, कांग्रेसका अमृतलाल राजवंश, जगत ताजपुरिया, कविता सरदार, एमाओवादीका जुब्बा सरेन, चन्द्रलाल मेचे, धर्मशीला चपागाईं, लालबहादुुर सुसलिङ मगर, रोशन थापा, भीष्म धिमाल, बाबुलाल पासवान, पुजा खनाल, अमिलाल झाँगड, शान्ति राजवंशी, सन्तोष थारु, विश्वदीप लिङदेनलगायत सभासदका साथै ३२ जना बुद्धिजीवीलेले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया