सौगात खलासी बनेका भए…

‘पैसा कमाउन बल होइन पासा दिमाग चला दिमाग ।’ निकै चर्चित छ युवापुस्ताबीच यो डाइलग हिजोआज । चलचित्र लुटमा यो डाइलग बोल्ने नायक सौगात मल्ल झनै चर्चित हुँदै छन् । लुटको अत्यधिक सफलतापछि चलचित्रमा माग बढेका यी नायक अहिले छड्केको अभिनयमा व्यस्त छन् । यी नायक अभिनयमा नलागेका भएचाहिँ कुन क्षेत्रमा पुग्थे होलान् त ? के थियो उनको विकल्प ? ‘ओहो, साँच्ची केमा जान्थेँ होला त म, सोच्दै पो सोचिएन छ त †’ द्विविधामा परे उनी । दिमाग चाटियो, ‘खलाँसी पेसामा आइपुग्नुभएको भए नि ? कस्तो लाग्छ यो पेसा ?’ अब छिरे उनी खलाँसी कल्पनामा । व्याख्या गर्न थाले, ‘राम्रो छ नि । सबै खलाँसी ड्राइभर बन्नकै लागि आएका हुन्छन् । म पनि ड्राइभर बन्ने किसिमले नै लागिपर्दो हुँ,’ थपे, ‘मलाई यो पेसाको पूर्ण अनुभव त छैन तापनि गाडीको ढोकामा बस्न साह्रै मन पर्छ ।’

खलाँसीहरूले मनपरी भाडा असुल्ने गरेको गुनासो भेटिन्छ यात्रुहरूको । कहिले विद्यार्थीलाई कार्ड छुट नदिएर त कहिले चानचुन पैसा छैन भन्दै फिर्ता नदिएर हैरान पार्छन् रे † सौगातचाहिँ के गर्दा हुन् ? ‘आफू त हिसाबकिताबमा एकदमै कमजोर छु, यात्रुले जति माग्छन् उति फिर्ता दिन्थेँ नि † नत्र पिट्लान् भन्ने डर ।’ यात्रु पनि कम्तीका त कहाँ हुन्छन् र, सोझासाझा खलाँसी पाए भाडै नतिरी टाप ठोक्न बेर लाउँदैनन् । अलि जंगी खालका परेछन् भने त दुई–चार रुपियाँ कम दिँदै थर्काउन पनि सक्छन् । सोझो स्वभावका सौगात झनै डराउँदा पो हुन् त † उनले फुर्ती झिके, ‘आबुई त्यतिकै त कहाँ जान दिन्थेँ र, ड्राइभर दाइलाई भनेर भए पनि चढेको भाडा त लिइहाल्थेँ नि । त्यसो गर्दा पनि नभए पुलिसलाई बोलाउँथँे । भाडा उठाउन पनि बल होइन बुद्धि चाहिन्छ बुद्धि †’
कति खलाँसी त ढोकामा बसेर बाटामा हिँडिरहेका केटीहरूलाई सिटी पनि मारिरहेका हुन्छन्, केही न केही भनेर वा आँखा झिम्क्याएर जिस्क्याउने सुर झिकिरहन्छन् । उस्तै परे कुनै केटीको चप्पल भेट्न पनि बेर छैन । सौगात तर्सिइहाले, ‘हैन–हैन म त्यस्तो गर्दैनथेँ । वास्तविक जीवनमा पनि केटी जिस्क्याउन आउँदैन, कहाँ आँखा झिम्क्याउनु । मेरा लागि त धेरै परको कुरा ।’
यसो भन्दैमा खलासीलाई जिस्क्याउने यात्रु केटी पनि अलिअलि नभेटिने कहाँ हुन् र ? सौगात कल्पनामा डुबे– ‘त्यस्तालाई त म के गर्न खोजेको दिदी (वा बहिनी) भन्थेँ । जिस्क्याउने केटालाई केटीहरूले ‘तेरो घरमा दिदीबहिनी छैन’ भन्छन् नि † हो, म पनि त्यस्ती केटीलाई तिम्रो घरमा दाजुभाइ छैनन् ? अरूलाई जिस्क्याउन लाज लाग्दैन ? भनिदिन्थेँ ।’
मन न हो, जति आदर्श छाँटे पनि विपरीत लिंगीप्रति ढल्किन के बेर र ? गाडीमा झुन्डिँदा–झुन्डिँदै कुनै केटीसँग प्रीति बसेचाहिँ के गर्दा हुन् नि सौगात ? ‘के गर्नु जति गरे पनि केटीका अगाडि कसको के लाग्छ र, गुरुजीसँग बिदा मागेर कतै डेटिङ लिएर जान्थेँ होला, नत्र अर्को गाडीका साथीहरूले नामर्द भन्लान् फेरि †’ केटीले बिहेकै प्रस्ताव राखी भने नि † ‘ओहो, त्यो त त्यत्तिकै कहाँ हुन्छ, दुई–चार वर्ष पर्ख, पहिला ड्राइभर बनूँ अनि बिहे गरौँला’ भनेर सम्झाउँथे रे यी नायक । खलाँसी अनुभूतिमा डुबिरहेका यी ठिटा एकाएक कल्पनाबाट बाहिरिएर सुझाब दिन थाले सरकारलाई– ‘नेपालका सम्पूर्ण खलाँसीका लागि सरकारले आवश्यकताअनुसार तलब स्केल निर्धारण गरिदिनुपर्‍यो । यसो हुँदा युवा बिदेसिन कम हुन्थ्यो, यो आफैँमा रोजगारीको सम्मानित अनि दह्रिलो माध्यम बन्ने थियो ।’

प्रतिक्रिया