काभ्रेका कर्मचारी आन्दोलित

काभ्रे : पनौती नगरपालिकाका कर्मचारीलाई कालोमोसो दलेर नगर घुमाउने कार्यको विरोधमा जिल्लाका कर्मचारी संगठन आन्दोलित भएका छन् ।
सोमबार भएको घटनाको विरोधमा जिल्लास्थित कर्मचारीको मंगलबार बसेको बैठकले अपराधी पक्राउ गरी कारबाही गर्न प्रशासनलाई तीनदिने अल्टिमेटम दिएका छन् । नगरपालिकाका तर्फबाट कालोमोसो दल्ने आठलाई किटानी उजुरी दर्ता भएपछि कर्मचारी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । घटनामा संलग्न व्यक्ति फरार हुने सम्भावना रहेको भन्दै उनीहरुको नाम भने गोप्य राखिएको छ । इलाका प्रहरी कार्यालय बनेपामा नगरपालिकाका तर्फबाट पनौती–१३ मकैटारका स्थानीयविरुद्ध किटानी जाहेरी दर्ता गरिएको हो । जिल्लाका रहेका सात कर्मचारी संघसंगठनले सिडिओ रुद्रनाथ बस्याललाई ध्यानाकर्षण गराउँदै कर्मचारीको सुरक्षाको माग गरेका छन् । नगरपालिकाका कर्मचारीले मंगलबारदेखि नै अनिश्चितकालीन तालाबन्दी पनि गरेका छन् । सर्वदलीय संयन्त्रको सिफारिसपछि मकैटार कालीदेवी क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनार्थ खरिद गरिएको जग्गामा जाने पहुँच मार्ग निर्माणका विषयमा सोमबार कर्मचारीहरु उपभोक्ता समिति गठन गर्न जाँदा स्थानीयले कालोमोसो दलेका थिए ।
नेपाल नगरपालिका कर्मचारी एसोसियसन पनौती एकाइ समितिले नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, इन्जिनियर प्रेमकुमार सोनाम, नगर सहजकर्ता भरतप्रसाद बञ्जारा, सामुदायिक विकास सहायक केशव बञ्जारा, खरिदार सुनिल भण्डारी, वडा सचिव राम बस्नेतलगायतलाई कालोमोसो दलिएको थियो ।

प्रतिक्रिया