नोयडाले नेपाली फिल्म फेस्टिबल गर्ने

काठमाडौं, १२ वैशाख । बलिउड चलचित्र निर्माण कम्पनी नोयडा फिल्म सिटीले भारतको नयाँदिल्लीमा नेपाली फिल्म फेस्टिबल गर्ने तयारी गरेको छ । मंगलबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार भेटघाटमा नोयडा र एसियन एकेडेमी अफ फिल्म एन्ड टेलिभिजनका निर्देशक सन्दीप मारवाले निकट भविष्यमा नेपाली चलचित्र फेस्टिबल गर्ने लक्ष्य रहेको जानकारी गराएका हुन् । त्यसलगत्तै नेपालमा पनि नेपाली र भारतीय चलचित्रको संयुक्त फेस्टिबल गर्न कानुनी प्रक्रिया थालिएको उनले जानकारी दिए ।
नेपाली संघ–संस्थाले चासो देखाएमा नेपाली चलचित्रसमेत बनाउने नोयडाले बताए । उनले भने, ‘बलिउड चलचित्र उद्योगको सयवर्षे इतिहासको अनुभव आदानप्रदान गर्दै नेपाली फिल्म बनाउने हाम्रो इच्छा छ ।’ मारवाले नेपाली र भारतीय चलचित्र उद्योग मिलेर स्तरीय नेपाली फिचर चलचित्र बनाउँदा दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ हुने विश्वास देखाए । उनले भने, ‘नोयडा फिल्म सिटीका नौवटा स्टुडियोमा रहेका सेवासुविधा नेपाली चलचित्र क्षेत्रले सस्तो र सुलभ दरमा उपयोग गर्न सक्नेछन् ।’

प्रतिक्रिया