एसएलसी छात्राको सौन्दर्य स्पर्धा

काठमाडौं : एलएलसी दिएर बसेका छात्रालाई सहभागी गराई एसएलसी प्रिन्सेस–२०१२ नामक सौन्दर्य प्रतियोगिता गरिने भएको छ । उपत्यकाका ३० र उपत्यकाबाहिरका १० गरी जम्मा ४० प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिने आयोजक सिजन मिडियाले मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो ।
गत वर्ष सुरु भएको यो प्रतियोगिताबाट छात्राहरूले आफूमा निहित प्रतिभा देखाउन पाउनुका साथै शैक्षिक, सामाजिक, सांस्कृतिक लगायत विषयको ज्ञान प्राप्त गर्ने आयोजकका प्रदीपराज वन्तले बताए । आगामी १५ वैशाखसम्म आवेदन खुला गरिएको प्रतियोगितामा समावेशीअन्तर्गत आदिवासी, जनजाति, मधेसी, दलित समुदायका छात्रालाई अनिवार्य चयन गरिने आयोजकले बताए । एसएलसीपछि कलेजले लिने प्रवेश परीक्षामा सजिलो होस् भनेर प्रतियोगिताकै दौरान अंग्रेजी, गणित र विज्ञान विषयमा अध्यापनसमेत गराइने कार्यक्रममा जानकारी गराइयो । शनिबार, ९ असारमा राजधानीमा फाइनल स्पर्धा हुने प्रतियोगिताका शीर्ष विजेतालाई उपाधिसहित ल्यापटप, मोबाइलफोन सेट र प्लसटु तह अध्ययनका लागि ३ लाख रुपिया बराबरको छात्रवृत्ति, फस्ट रनरअप र सेकेन्ड रनरअपलाई ल्यापटप, मोबाइलफोन सेट र १ वर्षको पूर्ण छात्रवृत्ति पुरस्कार दिइने आयोजकले बताए । (सौस)

प्रतिक्रिया