संयुक्त नौसैनिक अभ्यास

कोलम्बो : भारत, श्रीलंका र माल्दिभ्सको संयुक्त नौसैनिक अभ्यास बुधबार आरम्भ भएको छ । हिन्द महासागरमा समुद्री लुटेराको बिगबिगी बढेकाले लुटेरालाई ठेगान लगाउन तीनवटै देशका तटीय सुरक्षाकर्मी सम्मिलित टोलीले संयुक्त अभ्यास गरेको बताइएको छ । माल्दिभ्सको तटीय क्षेत्रमा अभ्यास सुरु भएको र यसमा माल्दिभ्सका तीन र भारतका तीन युद्धपोत तैनाथ छन् ।
पाँच दिनसम्म जारी रहने सैन्य अभ्यासलाई ‘दोस्ती–६’ नाम दिइएको छ । श्रीलंकाको नौसैन्य विभागले जारी गरेको वक्तव्यमा हिन्द महासागरको भूराजनीतिक महत्त्वका कारण दक्षिण एसियामा मैत्रीपूर्ण सम्बन्ध भएका तीन राष्ट्रका तटीय सुरक्षाकर्मीले महासारको सुरक्षा सुनिश्चित गर्नु अपरिहार्य भएको जनाएको छ । संयुक्त सैन्य अभ्यासले तीनै राष्ट्रलाई पारस्परिक लाभ दिलाउने दाबी गर्दै वक्तव्यमा यसले संकटका बेला समन्वयात्मक पहलको मार्गप्रशस्त गर्ने जनाइएको छ । (एजेन्सी)

प्रतिक्रिया