मास्टर्समा नाडालको कीर्तिमान

मोनाको : शीर्ष वरीयताका नोभाक जोकोभिकविरुद्ध सात पराजयको क्रम टुंग्याउँदै राफेल नाडाल लगातार आठांपटक मोन्टे कार्लो ओपन टेनिस उपाधि जित्न सफल भएका छन् ।
आइतबार राति भएको फाइलनमा दोस्रो वरीयताका स्पेनिस नाडालले विगत करिब दुई वर्षयता सनसनीपूर्ण प्रदर्शन गरिरहेका सर्वियन जोकोभिकको चुनौती ६–३ र ६–१ ले पन्छाए । गत वर्ष फ्रेन्च ओपन ग्रान्डस्लाम जितेयता पहिलोपटक च्याम्पियन बनेका नाडालको खेलजीवनको यो ४७आंै उपाधि हो ।
मोन्टे कार्लो ओपन टेनिस मास्टर्स प्रतियोगिता शृंखलाअन्तर्गत पर्दछ । यसरी मास्टर्स उपाधि नाडालले जितेको यो २०औं अवसर हो जुन आफैमा कीर्तिमान हो । यसअघि नाडाल र रोजर फेडेरर दुवैले मास्टर्स उपाधि समान १९ पटक जितेका थिए भने मोन्टे कार्लो विजयसँगै नाडालले उक्त कीर्तिमान अब आफ्नो नाममा एक्लौटी बनाएका छन् ।
‘सानो छँदादेखि नै म यस प्रतियोगितालाई मन पराउँथें, साँच्चै भन्ने हो भने यसमा खेल्नु मेरो सपना बराबर थियो ।’ सन् २००५ पछि यस प्रतियोगितामा एउटा पनि खेल नहारेका नाडालको जितपछि प्रतिक्रिया थियो, ‘हरेकपटक विजेता बन्ने क्रममा उच्च श्रेणीका खेलाडीलाई हराउने गरेको छु, विगतमा जस्तै यसपटक पनि त्यसै गर्न पाएकोमा निकै खुसी लागेको छ ।’
उपाधि जित्ने निश्चित भएलगत्तै नाडालले जोकोभिकतर्फ हातको इसाराले हेर्दै जितको सान देखाएका थिए । सन् २०१० को एटिपी फाइनल्सपछि जोकोभिकविरुद्ध नाडालको यो पहिलो जित हो । यसबीचमा जोकोभिकले नाडाललाई लगातार तीन ग्रान्डस्लाम प्रतियोगिताको फाइनलमा पराजित गरेका थिए ।
यससँगै नाडालले अहिलेका विश्व नम्बर–१ खेलाडीविरुद्धको प्रदर्शनलाई १७–१४ ले अगाडि बढाए । ‘जोकोभिकविरुद्धका पछिल्ला केही भिडन्तमा हार व्यहोरेको पृष्ठभूमिमा यस जितले मेरो आत्मविश्वास वढेको छ,’ नाडालले भने । बायाँ घँुडाको चोटका कारण नाडाल यस प्रतियोगितामा सहभागी हुनुअघि करिब तीन साता उपचार र आरामको क्रममा थिए ।
यता हारपछि जोकोभिकले हजुरबुबाको निधनका कारण आफू मानसिक रूपमा नाडालविरुद्ध खेल्न नसकेको बताए । ‘मैले नाडालविरुद्ध चाहिने मात्रामा मानसिक बल केन्द्रित गर्न सकिन, मेरो ध्यान अन्तै केन्द्रित थियो,’ शनिबार मात्र निधन भएका हजुरबुबालाई सम्झँदै उनले भने । (एजेन्सी)

प्रतिक्रिया