ग्ल्यामरमा रमाउँदै अपेक्षा

काठमाडौं ११ वैशाख । आँधी एल्बमको आँधीले उडाओस् बोलको गीतमा अभिनय गरेपछि मोडलिङमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन अपेक्षा बस्यालले । अहिले उनी म्युजिक भिडियोमा चलेकी मोडल मानिन्छिन् । मोडलिङमा प्रवेश गरेको दुई वर्षकै अवधिमा उनले लोकआधुनिक र लोकपप गरी दुई दर्जनमाथिका म्युजिक भिडियोमा अभिनय गर्न भ्याइसकिन् ।
सानैदेखिको रुचिका कारण ग्ल्यामर फिल्ड रोजेकी उनको लक्ष्य सफल मोडल हुँदै सफल नायिकासम्म बन्नु हो । ‘त्यसैका लागि धातोक–८, पोखरादेखि काठमाडौं आइपुगेकी हुँ,’ उनले सुनाइन् । गृहनगरमा छँदै विभिन्न नृत्य प्रतियोगितामा सहभागी हुनाका साथै नाटकहरूमा अभिनय पनि गरेको उनले सुनाइन् । तर, कसैको आशीर्वाद नरहेका नवप्रवेशीलाई यो क्षेत्रमा सुरुमा निकै कठिन हुने यिनले बुझिछिन् । त्यो स्टेज पार गर्न निकै संघर्ष गर्नुपर्‍यो रे † सुरुको समयमा विवाहको गीतमा समेत मोडलिङ गरेकी अपेक्षाले म्युजिक भिडियोको अनुभव अब चलचित्रमा उतार्ने चाहाना पालेकी छन् । ‘रोल सुहाउँदो अफर आए चलचित्रमा अभिनय गर्छु,’ उनले भनिन् । जतिसुकै कडा संघर्ष गर्नुपरे पनि ग्ल्यामर क्षेत्र छाडेर जाने सोचाइ भने उनमा छैन ।
शिव विकको निर्देशनमा रहेको गीतले आफूलाई स्थापित गरिदिएकाले निर्देशक विकलाई आदरणीय मान्छिन् अपेक्षा । घरपरिवारको सहयोगका कारण यो क्षेत्रमा लाग्न सजिलो भएको बताउँदै उनले भनिन्– ‘घरपरिवारको सहयोगविना यो क्षेत्रमा टिक्न कहाँ सकिन्छ र ?’ हँसिलो अनुहार, मिलनसार बानी अनि मीठो बोलीकी १९ वर्षीया अपेक्षा ५ फिट २ इन्च अग्ली छिन् । ग्ल्यामर फिल्डमा जम्न शारीरिक सुन्दरताका साथै शैक्षिक योग्यता पनि आवश्यक पर्ने बुझेकी उनले प्लसटुसम्मको अध्ययन सकेकी छन् ।

प्रतिक्रिया