सिन्धुलीमा सुकुम्वासी पहिचान गर्न समस्या

जनकपुर, ११ वैशाख । सुकुम्वासी समस्या समाधान आयोग जिल्ला समिति सिन्धुलीमा सुकुम्वासी पहिचान गर्न समस्या भएको जनाएको छ ।

परिचय पत्र पाउँ भन्दै निवेदन दिनेको संख्या सोचे भन्दा बढि भएपछि समितिलाई समस्या भएको हो । निवेदन दिनेमा हुनेखानेहरुको वाहुल्यता रहेको छ ।

कमलामाई नगरपालिका भित्र करिव एक विगाहसम्म जग्गा भएकाहरुले समेत सुकुम्वासीको परिचयपत्र माग गर्दै  निवेदन दिएको सुकुम्वासी समस्या समाधान आयोगले जनाएको छ ।

वास्तविक सुकुम्वासी पहिचान गर्न निवेदनमाथि छानविन भैरहेको सुकुम्वासी समस्या समाधान आयोगका अध्यक्ष टंकप्रसाद गौतमले वताए ।

केही  दिन अघि सुकुम्वासी समस्या समाधान आयोगले सुकुम्वासीहरुको पहिचान गरी परिचयपत्र वितरण गर्ने सूचना सार्वजनिक गरेको थियो ।

कमलामाई नगरपालिका सहित जिल्लाका कमलाखोंच तथा मरिणखोला क्षेत्रका गाउँ विकास समितिहरुमा वसोवास गर्ने करिव नौ सय जनाले परिचय पत्र पाऊ भनी निवेदन दिएको आयोगले जनाएको छ ।

सुकुम्वासी भएको दावी गर्दै परेको नौ सय निवेदन मध्ये छ सय निवेदन छानविन भैसकेको गौतमको भनाई छ । छ सय निवेदन छानविन गर्दा पन्ध्र जनाको नाममा जग्गा फेला परेको छ ।

जग्गा फेला परेका कतिपय निवेदक आफ्नै नाममा र कतिपयको अंसियारको नाममा जग्गा भेटिएका छन् । सुकुम्वासी भएको भन्दै निवेदन दिने एक जना व्यक्तीको नाममा नगरपालिका भित्र अठार कट्टा जग्गा फेला परेको खुल्न आएको छ ।
सुकुम्वासी भएको भन्दै परिचयपत्रको माग गरेका व्यक्तीहरुको निवेदन जाँचवुझ गर्ने काम सके पछि वास्तविक सुकुम्वासीलाई सुकुम्वासीको पचियपत्र वितरण गरिने अध्यक्ष गौतमले वताए ।

प्रतिक्रिया