माडसा”बको बुढ्यौली

कदका हिसाबले सानो, लेखनीका हिसाबले पुरानो र नेपाली साहित्यका एक रानो । यो परिचय हो, मदनमणि दीक्षितको । जो  कालिकास्थानस्थित आफ्नो पारिवारिक उपवनमा ढकमक्क सुशोभित भएर फुलेका छन् । वरिपरि छोराबुहारी अनि श्रीमती मालीले जसरी उनको रखवाली गरिरहेछन् ।
उमेरले नौ दशक छुन एक वर्ष बाँकी राखेका यी बूढा स्वास्थ्यप्रति सचेत छन् । त्यसो त एक समय उनी निस्फिक्री अम्मल पनि सेवन गर्थे रे । ‘बनारसमा बस्ने मान्छेले पान खाएर सान देखाउँदै आफ्नो पहिचान त दिनै पर्‍यो नि †’, सुनाए– ‘राजनीतिक पार्टीमा लागेपछि रक्सी–चुरोट नखानेलाई त खाँटी सदस्य नै होइनस् भनेर साथीभाइ गिल्ला गर्थे, त्यता पनि मिल्नै पर्‍यो,  जे त होला भन्दै खाइदिएँ । यो चुरोट भन्ने जिनिस यस्तो रहेछ कि एकचोटि तानेपछि छाड्नै मन नलाग्ने ।’ अहिले भने उनले यस्ता सबै लत छाडिसकेका छन् ।
माताजीले पाएको सामाजिक पीडाले नेपाली साहित्यमा सिर्जनाको खाता खोल्न प्रेरणा दिएको बताउने यी वृद्धले आफ्नो लेखनीको हिसाबकिताब निकाले– ‘अहिलेसम्म ३२ वटा पुस्तक लेखिसकेँ, दुईटा यही वैशाखभित्र आउँदै छन् । सरदर दैनिक ६ पेजका दरले एक करोड ५४ लाख शब्द व्यक्त गरिसकेँ तर पनि माताजीको कथा अझैसम्म लेख्न नपाएकामा अपसोस छ ।’
अहिलेको वृद्धवयको जमानाअघि पनि अर्को कुनै जमाना थियो उनको । जति बेला धोतीकुर्ता पहिरिएका मदनमणि बडो सोखिन र झिल्के हेडमास्टर थिए । दिनमा चारपटकसम्म लुगा फेर्नुपर्ने । एक दिन लगाएको लुगा अर्को दिन धोबीको जिम्मा लगाइहाल्थे । लुगा ल्याउन ढिला गरे आफैँ धोबीकहाँ पुग्थे । धोबीले कडा धोतीलाई सपक्क मिलाउन ‘माड’ लाउने भनेर बिस्तारै सोध्थ्यो रे– ‘माडसा’ब, माडसा’ब †’ आफैँलाई व्यंग्यविनोद गर्दै खुसुक्क सुनाए दीक्षितले– ‘यसरी म सबैको माडसा’ब भएँ ।’
अद्भुत र ओजपूर्ण लेखनीका धनी तत्कालीन ‘समीक्षा’ का यी सम्पादक अतीत पनि सम्झँदै छन्– ‘पञ्चायतीहरूले अनाहकमा जनता भड्काउँदै छ भनेर ‘समीक्षा’ बन्द गराइदिए ।’ त्यसपछि आर्थिक, मानसिक र शारीरिक रूपमा पूरै क्षतविक्षत हुन पुगेछन् । आत्महत्याको प्रयासै गर्ने सोचेछन् । भन्छन्– ‘यसो गर्दा उनीहरूलाई झन् सजिलो हुन्थ्यो, त्यसैले आत्महत्यालाई थाती राखेर उनीहरूलाई जवाफ दिने निधो गरेँ ।’ त्यही ‘समीक्षा’ बन्द भएको पीडा र संघर्षको कथा प्रकारान्तरले ‘माधवी’ मा झल्किएको उनी बताउँछन् । आफ्नो कृतिको ख्यातितर्फ इंगित गर्दै बूढो छाती फुलाए उनले– ‘आज हेर्नोस् त, ती बन्द गर्ने कुन दुलोभित्र छिरे, म कहाँबाट कहाँ पुगेँ, तुलनै हुन सक्दैन ।’
चाउरिएको मुहारभित्रको सक्रिय मस्तिष्क यतिखेर उनका कृतिभित्र लुकेका रहस्यको पोको खोल्दै छ– ‘उपन्यास ‘मेरी नीलिमामा’ एउटी पहाडकी विदुषी छिन्, त्यो पात्रको चरित्र मेरी आमा र पत्नीजस्तो छ । त्यहाँ उपस्थित मास्टर म नै हुँ,’ थपे– ‘उपन्यास ‘माधवी’ त छापिएपछि पनि एक–दुईपटक होइन, पूरै चौबिस पटक पढेँ । यो मुद्राराक्षस बडो विचित्रको चिज हुँदोरहेछ † प्रथम संस्करणमा तीन हजार ६ सय ठाउँमा अशुद्धि थियो । दोस्रो संस्करणमा केही घटेर आउला भनेको त झन् नयाँ थप गरेर चार हजार दुई सय पो पुगेछन् ।’ अहिले पाँचौं संस्करणमा आइपुग्दा पूरै शुद्धताको दाबी त उनले गरेनन् तर अशुद्धि पक्कै कम रहेको चाहिँ सुनाउँछन् ।
यो सक्रियताबीच पनि उनी ‘हृदयका बिरामी’ भने छन्, यसकै लागि दैनिक १०–११ वटा औषधि सेवन गर्छन् । उनको दिनचर्याचाहिँ यस्तो हुन्छ– बिहान ४:३० बजे उठेर १५ मिनेटपछि ओछ्यान छाड्छन् । शरीरलाई स्फूर्ति दिन र स्वस्थ राख्न प्रात: भ्रमणको नाममा वल्लो कोठा र पल्लो कोठा ३० पटकसम्म ओहोरदोहोर गर्छन् । अनि व्यायाम र प्राणायाम त छँदै छ । यति गरेपछि उनको शारीरिक परिश्रम पूरा हुन्छ । अहिले आफ्नो स्वास्थ्य ठीकै रहेको सुनाए ।
सातामा एकपटक छापामा स्तम्भ आउने भएकाले नोट बनाउने, अध्ययन गर्ने, लेख्ने विषयमा चिन्तनमनन गर्दागर्दै उनको खाना आइपुग्छ ।
‘पहिला मेरा ३२ वटा दाँत थिए’, मुख आँ गरेर देखाउँदै उनले भने– ‘अहिले पाँचवटा मात्र बाँकी छन् ।’ त्यसैले विगत ६–७ वर्षदेखि बिहानको खानाका रूपमा ताउलोमा पकाएको जाउलो खाएर मजा लिने गरेका रहेछन् उनले ।
दिउँसो मौका मिलाएर सुत्ने र पत्रिका पढ्ने बानी पनि रै’छ । त्यसो त कान पनि कमै सुन्छन् । तैपनि समाचारतिर ध्यान दिइरहन्छन् । तर, लोडसेडिङले हैरान पारेको छ । त्यसैले बेलुकी चाँडै खानपिन सकेर आठै बजे खाटमा पल्टिन पुगिसक्दा रहेछन् ।

प्रतिक्रिया