उमेर अन्तर आवश्यक

हाम्रो समाजमा वैवाहिक जोडीमध्ये केटाको भन्दा केटीको उमेर कम हुनुपर्ने मान्यता छ । हाम्रा वरिपरिका प्राय: सबै विवाहमा यस्तै उमेर अन्तर हुन्छ । यौनस्वास्थ्यका दृष्टिले पनि यस्तो खालको अन्तर ठीक रहेको स्वास्थ्यविद्हरूले बताएका छन् । विवाहसम्बन्धमा भावनात्मक रूपले जीवनभरको साथ खोजिने भएकाले कहिलेकाहीँ यौनको विषय बाधक बन्न सक्छ । अनि यौनसम्बन्धको तादात्म्य उमेर अन्तरले पनि निर्धारण गरिरहेको हुन्छ । यसर्थमा हुनेवाला पति–पत्नीहरूले एकअर्काबीचको उमेर अन्तरबारे स्पष्ट हुन आवश्यक रहेको स्वास्थ्यविद्हरू बताउँछन् ।
श्रीमान्–श्रीमतीको सम्बन्धमा सेक्सुअल हार्मोनी कायम रहेसम्म सबै कुरा ठीक हुन्छ । विवाहको केही वर्षपछि नै बुढ्यौलीका कारण श्रीमान् र श्रीमतीमध्ये कोही एकलाई यौन अतृप्ति भयो भने दाम्पत्य जीवनमा समस्या आउन सक्छ । यसैका लागि उमेर अन्तरको संयोजन महत्त्वपूर्ण मानिएको हो । केटा र केटी दुवैको यौनेच्छा र क्षमता एउटै उमेरसम्म कायम रहन्छ भन्ने छैन । पुरुषको यौनक्षमता र चाहना जुन उमेरसम्म रहन्छ, नारीहरूमा त्यो केही कम उमेरसम्म मात्रै हुन्छ । यही कारण सेक्सुअल हार्मोनी नमिलेको खण्डमा उत्तराद्र्धको यौनजीवन खल्लो हुन पुग्छ । दाम्पत्य सम्बन्धमा त्यो हार्मोनी कायम राख्न पतिको उमेर पत्नीको भन्दा पाँचदेखि नौ वर्ष बढी हुनु आवश्यक छ । रजस्वला भएपछि नै नारी शरीर सन्तानोत्पत्तिका लागि योग्य हुन्छ । रजस्वला प्रक्रिया बन्द हुँदासम्म महिलाहरू हरेक महिना रजस्वला भइरहेका हुन्छन् । हरेक महिना एउटा नयाँ डिम्ब परिपक्व हुन्छ । रजस्वला बन्द हुने उमेर ४० देखि ५० वर्षको हाराहारीमा हो । रजस्वला बन्द भएपछि प्रोजेस्टेरोन हार्मोन बन्ने प्रक्रिया बन्द हुन्छ । डिम्ब बन्ने र निस्कने प्रक्रिया पनि बन्द हुन्छ । मासिक स्रावको क्रिया बिस्तारै–बिस्तारै मन्द हुँदै रोकिन्छ । एस्टोजन हार्मोन बन्ने क्रिया अवरुद्ध हुन्छ । परिणामस्वरूप प्रजनन अंग खुम्चिएर सानो हुन्छ । नारी यौनांग पहिलेजस्तो सक्रिय हुँदैन । यस्तो परिवर्तनले सहवासमा कठिनाइ हुन्छ र श्रीमान्लाई यौन सन्तुष्टि नहुन सक्छ । श्रीमान्सँग समान उमेरका महिलाहरू श्रीमान्को यौनेच्छा तृप्त नगरी रजस्वला बन्द हुने अवस्थामा पुग्ने गर्दछन् ।
यस्तै पुरुषहरूको शारीरिक यौनचेतना १४ वर्षदेखि प्रारम्भ हुन्छ । पुरुषहरूमा हुने सेक्स हार्मोन ६० देखि ७० वर्षसम्म सक्रिय हुन्छ । पुरुषहरूमा कामेच्छा कहिले चरम अवस्थामा पुग्छ भन्ने निर्धारित समयसीमा हुँदैन । सामान्यतया ४५ देखि ५० वर्षमा सेक्सप्रति पुरुषको धारणामा केही हदसम्म परिवर्तन आउँछ । यौनजीवनमा विश्राम आएको अनुभव हुन्छ, जसकारण यौन क्रियाकलापमा शिथिलता अनुभव हुन्छ । सेक्सुअल हार्मोनी नै सफल वैवाहिक जीवनको आधार हो । सेक्सुअल हार्मोनी अर्थात् श्रीमतीको रजस्वला बन्द हुने अवस्थासम्म श्रीमान्को कामेच्छामा पनि शिथिलता आउन थाल्यो भने मात्र दम्मतीबीच यौनको तादात्म्य मिल्न सक्छ ।  यी कारणहरूबाट पनि श्रीमान् र श्रीमतीबीच उमेर अन्तर हुन जरुरी मानिन्छ ।

प्रतिक्रिया