शान्ति र संविधानको जस लिने आ–आफ्नै दाउ

काठमाडौं, १० वैशाख । नयाँ संविधानका विवादित विषयको समाधानको खोजीमा रहेका प्रमुख दलहरू सरकार फेर्ने या यही सरकारलाई निरन्तरता दिने भन्नेमा पनि एकमत हुन सकेका छैनन् । कांग्रेस र एमालेले राष्ट्रिय सरकार गठन गर्नुपर्ने बताइरहेका छन् भने सत्तारूढ एकीकृत नेकपा (माओवादी) र मधेसी मोर्चा १४ जेठसम्म यही सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा छन् ।
कांग्रेस र एमाले नेताहरूले माग्दैमा राजीनामा दिन नहुने माओवादी उपाध्यक्षसमेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई पक्षधर र मोर्चाको निष्कर्ष छ । शान्ति र संविधान निर्माणको जस पाइने भएकोले यही सरकारलाई निरन्तरता दिनुपर्ने निष्कर्षमा उनीहरू पुगेको स्रोत बताउँछ । शनिबार भएको बैठकमा १४ जेठअघि राजीनामा नदिने सहमतिसमेत भइसकेको छ ।
‘१४ जेठसम्म यही सरकारलाई निरन्तरता दिनुपर्छ,’ तमलोपा नेपालका अध्यक्ष एवं सिँचाइमन्त्री महेन्द्र यादवले सौर्यसँग भने, ‘यही सरकारले शान्तिप्रक्रिया टुंगो लगायो र संविधान पनि यसैले जारी गर्छ ।’
स्रोतका अनुसार प्रमुख दलहरूको बैठकमा सहमतिको सरकार बनाउने विषयमा पनि गम्भीर छलफल हुने गरेको छ । कांग्रेस आफ्नो नेतृत्वको राष्ट्रिय सरकारले संविधान जारी गर्नुपर्ने अडानमा छ भने भट्टराई पक्ष र मोर्चा सरकार परिवर्तन आवश्यक नरहेको निष्कर्षमा छन् । माओवादीकै अध्यक्ष पुष्पकमल दाहाल पक्षधर भने अरू विषयमा कुरा मिले सरकारको नेतृत्वमा लचकता देखाउनुपर्ने पक्षमा रहेको स्रोतको दाबी छ । ‘सबै विषयमा कुरा मिले सरकारको नेतृत्व कसले गर्ने भन्नेमा अड्काउनु हुंदैन,’ हात्तीवन बैठकमा दाहाल पक्षका नेताहरूले राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सहमति भए १४ जेठअघि नै कांग्रेसले सरकारको नेतृत्व गर्न सक्छ ।’

प्रतिक्रिया