जोशीले ल्याए पुस्तक र एल्बम

काठमाडौं : कवि तथा गीतकार डा. मोहनप्रसाद जोशीका कहाँ छ ठाऊँ कवितासंग्रह र गीति एल्बम एकसाथ विमोचन भएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरेले एल्बम तथा पुस्तकको एकसाथ विमोचन गरेका हुन् । कहाँ छ ठाउँ कवितासंग्रहमा भएका १० कविता र एउटा गीत एल्बममा समेटिएका छन् ।
विमोचनपछि प्रमुख अतिथि घिमिरेले कवितासंग्रहलाई तीन भागमा छुट्याएर डा. जोशीले कविता उनेको धारण राख्दै भने, ‘यसमा संगृहीत कविताहरू हेर्दा लाग्छ, ख्याति कमाएका कविका कविताभन्दा कम छैनन् ।’ डा. जोशीले पुस्तक र एल्बममा रहेको आधुनिकताको तीखो धुन र मलाई देऊ प्रिय शीर्षकको कविता वाचन गरेर सुनाए । आफ्ना दस वर्षअघिदेखिका कविता पुस्तकमा समेटिएको उनले जानकारी दिए । त्यस्तै, कार्यक्रममा बाला भट्टराई र  गायिका आनिछोइङ डोल्माले गीत गाएर सुनाइन् । रामकृष्ण ढकालले तिम्रो प्रीति छ साह्रै अनौठो बोलको गीत गाएर आफूले गाउन लागेको गीतको भाव आपैँले बुझ्न नसकेको बताउँदा उपस्थित दीर्घाबाट हाँसोको पर्रा छुटेको थियो । एल्बमका संगीतकार न्हु वज्राचार्यले आफूलाई एल्बममा संगीत भर्न निकै गाह्रो भएको बताए ।(सौस)

प्रतिक्रिया