वैदेशिक रोजगारलाई मर्यादित बनाउ

काठमाडौं, १० वैशाख । वैदेशिक रोजगार व्यवसायमा हुने गरेका ठगीलाई नियन्त्रण गर्न सकेमा मात्रै यस व्यवसायलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सकिनेमा सरोकारवालाले जोड दिनुभएको छ ।

उनीहरुले रोजगारीका लागि विदेशमा जाने नेपाली कामदारलाई अनेक बहानामा गरिने ठगीलाई नियन्त्रण गर्न सरकार, व्यवसायी र यससँग सम्बन्धित सरोकारवाला निकाय एकसाथ अगाडि बढ्नुपर्नेमा पनि जोड दिए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले वैदेशिक रोजगारमा हुँदै आइरहेको ठगीलाई निरुत्साहित गर्न विभागले सुधारात्मक कदम चाल्दा स्वयम् व्यवसायीबाटै असहयोग हुनु सबैका लागि दुःखद् भएको बताए ।

उनले विभागको पहलमा भइरहेको सुधारबाट अहिले वैदेशिक रोजगारमा उल्लेखनीय प्रगति भइरहेको र ठगीका घटनामासमेत क्रमशः सुधार हुँदै आएको दाबी गरे ।

वैदेशिक रोजगार सुझाव कार्यदलका पूर्वसदस्य डा गणेश गुरुङले आफूहरुले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारलाई गत कात्तिकमा ३० बुँदे सुझाव प्रस्तुत गरेको र वर्तमान कानुनमा समयानुकूल परिमार्जन गर्नसकेमा वैदेशिक रोजगारीको दर ह्वात्तै बढ्ने बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर तामाङले व्यक्तिगतरुपमा वैदेशिक रोजगारमा पठाउने कार्यलाई बन्द गरी यसभित्रका प्राविधिक कमी कमजोरीलाई सुधार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया