थ्रीस्टार सेमिफाइनलमा

काठमाडौं, ९ वैशाख । ७०औं मिनेटसम्म १-० ले पछि रहे पनि साविक विजेता थ्रीस्टार शनिबार विभागीय टोली सशस्त्र प्रहरी बल -एपिएफ) क्लबलाई ४-१ ले पराजित गर्दै बि्रटिस गोर्खाकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दुईपटकको विजेता थ्रीस्टारका लागि ७३औं मिनेटमा प्राप्त पेनाल्टी अवसर खेलकै ‘टर्निङ प्वाइन्ट’ भयो ।
दोस्रो हाफमा खेलमा र्फकन सक्दो प्रयास गरेको थ्रीस्टारले ७१औं मिनेटमा उत्कृष्ट गोलमार्फत खेललाई बराबरीमा ल्याइपुर्‍याएको थियो । डिफेन्डर विराज महर्जनको उत्कृष्ट क्रसमा डिबक्सभित्रबाट अघि बढ्दै सन्तोष साहुखलले टोलीको पहिलो गोल गरेका थिए । अग्रता गुमाएपछि आत्तिएको एपिएफले विपक्षी आक्रमणलाई रोक्ने प्रयासमा ७३औं मिनेटमा डिबक्सभित्र फल मात्र गरेन एक खेलाडी गुमाउनु पनि पर्‍यो । योगेश गुरुङलाई प्रतिस्थापन गर्दै पहिलो हाफमा छिरेका विष्णु गुरुङलाई कृष्ण लामाले टयाकल गरेपछि रेप विकास महतले थ्रीस्टारलाई विवादास्पद पेनाल्टी दिए ।
अनावश्यक फल दिएको भन्दै एपिएफ खेलाडी आक्रोशित देखिए । ५३औं मिनेटमा पनि पहंेलो कार्ड पाएका कृष्ण दोस्रो पहंेलो कार्डपछि मैदानबाट बाहिरिन पुगे । प्राप्त पेनाल्टी अवसरमा सन्तोष साहुखल चुकेनन् र थ्रीस्टारले खेलमा २-१ ले अग्रता लियो । त्यसपछि भने थ्रीस्टार पूर्णरूपमा खेलमा हाबी देखियो । खेलमा पछि परेपछि आत्तिएको एपिएफले भने थप दुई गोल खायो । ८१औं मिनेटमा करिब ३० यार्ड टाढाबाट कप्तान विषन गौचनले आकर्षक गोल गरे भने निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी हँदा विक्रम लामाले डिबक्सभित्रबाट ‘वन टच’ मा आकर्षक गोल गरेका थिए । विराज महर्जनको क्रसमा डिबक्सभित्र अनमार्कड विक्रमले पनि दर्शनीय गोल गरेका थिए । ‘थ्रीस्टार हामीभन्दा बलियो टोली हो,’ खेलपछि एपिएफका टिम म्यानेजर प्रेम श्रेष्ठले भने, ‘तर टिमअनुसार रेपले व्यवहार गरे, थ्रीस्टारका खेलाडीलाई रेप|mीको सहानुभूति रहयो ।’ त्यस्तै ठाउँमा आफ्ना खेलाडी लड्दा पेनाल्टी नपाइएको तर सामान्य टयाकल हुँदा पनि रेपले फल दिएको -पेनाल्टी फललाई इंगित गर्दै) उनको आरोप थियो ।
यसअघि स्टार खेलाडीको उपस्थिति रहेको थ्रीस्टारविरुद्ध एपिएफले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्‍यो । खेलको सुरुआतमै मिलन राईले क्रसमार्फत डिबक्समा निकालिदिएको गोलको अवसरलाई अर्जुन सुब्बाले भेट्नसम्म सकेनन् । १८औं मिनेटमा विपक्षी ‘जोन’ को मध्यरेखा नजिकैबाट भीमबहादुर श्रेष्ठले क्रसबारको दिशामा गरेको आकर्षक प्रहार रोक्न थ्रीस्टारका गोलकिपर किरण चेम्जोङलाई कठिन भएको थियो । लगत्तै आक्रामक रूपमा ‘डि्रबलिङ’ गर्दै डिबक्सभित्र अगाडि बढेका गणेश लावतीलाई विक्रम लामा र सन्दीप राईले रोके । स्तरीय प्रदर्शन गरेको एपिएफले ३०औं मिनेटमा गोल गरिछाड्यो । भेट्रान मिडफिल्डर कुमार थापाको क्रसमा डिबक्सभित्रबाट राजेन्द्र रावलले हेडमार्फत दर्शनीय गोल गरेका हुन् । पहिलो हाफको अन्तिम समयमा लावतीको आकर्षक हेड प्रहार फस्टबारको नजिकैबाट बाहिरिएको थियो ।
राष्ट्रिय टोलीका तीन खेलाडीसहित उत्रिएको थ्रीस्टारको पहिलो हाफमा कमजोर फिनिसिङ रहयो भने तालमेल पनि उत्तिकै तर ललितपुरे टोलीले दोस्रो हाफमा भने सुदृढ प्रदर्शन गर्‍यो । ५६औं मिनेटमै बुद्ध चेम्जोङले टोलीलाई बराबरीमा ल्याइपुर्‍याउने अवसर पाएका थिए तर वनभर्सेस वनमा उनी चुके । क्रसमार्फत डिबक्समा उपलब्ध अवसरमा चेम्जोङको प्रहार फस्टबारभन्दा बाहिरबाट जान पुग्यो । ‘भर्खर टिम सेटिङ भइरहेकोले सुरुमा हामीलाई गाह्रो भयो,’ जितपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘यसैकारण पहिलो हाफमा खेलाडीले प खेल्न छाडिदिएका थियौं तर गोल खाएपछि दोस्रो हाफमा रणनीति परिवर्तन गर्‍यौं ।’

प्रतिक्रिया