सेलिबि्रटीले हेरे आमाको मुख

काठमाडौं,९ वैशाख । शनिबार थुप्रै नेपाली आफ्ना आमालाई श्रद्धा प्रकट गर्न व्यस्त रहे । नेपाली कलाकारहरु पनि मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन आमालाई बिर्सिएर बस्न  सकेनन् । घरमै रहेकाहरुले विशेष उपहार दिएर आमाको मुख हेरे, सम्मानभाव दर्साएर आशीर्वाद ग्रहण गरे । घरबाहिर रहेकाहरुले पनि फोनमार्फत आमाप्रतिको धर्म एवम् कर्तव्य निर्वाह गरे ।
नायिका गरिमा पन्तले त आमाका लागि एक दिनअगाडि नै गिफ्ट ठीक पारिसकेकी रहिछन् । हिजो बिहानै उठेर आमाको मुख हेरिन् अनि ती गिफ्ट टक्य्राइन् । यसका लागि उनी र उनका दाजु मिलेर नौ हजार रुपियाँको सपिङ गरेका रे ! भनिन्- ‘ममीलाई गुलियो खानेकुरा मनपर्ने भएकाले चक्लेट किन्याँै । साडी-चोलो, पछ्यौरा, टीका र चुरा पहिर्‍यायांैँ ।’ गरिमाका अनुसार छोराछोरीको सम्मान अनि शुभकामना पाउँदा उनकी आमाको आँखा खुसीले रसाएको थियो । गरिमा भन्छिन्- ‘आमा भनेको जिन्दगी हो, हामीले पाउने सबै सफलता आमाकै कारणले सम्भव हुने हो । आमाविना जिन्दगी नै असम्भव छ ।’
नायिका सुष्मा कार्कीले भने प्रत्यक्ष आमाकै अगाडि बसेर खुसी साट्न पाइनछन् । आमा नेपालगन्जमा रहेकाले सुष्माले मुख हेर्न नपाएकी हुन् तर पनि उनले फोन गरेर आमालाई सम्भिmइन् रे ! भनिन्- ‘आफ्नै काममा व्यस्त हुनुपरेकाले यसपालि आमासँग भेट हुन सकेन । आमा जन्मदाता भएकाले भगवान्भन्दा माथि हुनुहुन्छ ।’ लव इज लाइफको सुटिङमा व्यस्त हुनुपरेकाले नायक आयुष रिजालले पनि धादिङस्थित घरमा रहेकी आमालाई प्रत्यक्ष भेटेर आशीर्वाद लिन पाएनन् । भन्छन्- ‘आमालाई भेटेर खुसी मनाउने विचार त थियो तर यसपालि भ्याइएन, तर पनि आमालाई प्रणाम भन्न चाहन्छु, उहाँको आशीर्वाद सधँभरि मिलिरहोस् ।’ आयुषका अनुसार सृष्टिको प्रारम्भ भनेकै आमा हुन् । गायिका श्रेया सोताङले पनि फोनमार्फत आफ्नी आमालाई सम्भिmइछन् । गायकगायिका मातापिता मनिला र उदय सोताङ हाल अस्ट्रेलियामा रहेकाले उनले फोनमार्फत आमालाई शुभकामना दिएकी हुन् । भनिन्- ‘अघिल्ला वर्षहरुमा आमालाई गिफ्ट किनेर दिने गरेकी थिएँ, यसपालिचाहिँ त्यस्तो मौका पाइएन, आमालाई सम्भिरहेकी छु ।’ निर्देशक निश्चल बस्नेतले भने नायिका गरिमाकै जस्तो अवसर पाएछन् । उनले बिहानै उठेर आमालाई विभिन्न उपहार दिएर खुसी साटासाट गरेको सुनाए । उनले  आमाको मुख हेर्नकै लागि भनेर ६ हजार रुपियाँबराबरको सपिङ गरेका थिए ।

प्रतिक्रिया