पत्नीको सम्झनामा ‘पाण्डुलिपि’

काठमाडौं : दर्शकदीर्घा एकाएक भावुक देखियो । मार्मिकताले भिजाउने गरी मञ्चबाट एक व्यक्ति आफ्नो भोगाइका सुखद अनि दुःखद तरंग दर्शकसम्म फैलाइरहेका थिए । शनिबार नेपाल पर्यटन बोर्डको खचाखच माहोलबीच साहित्यकार कृष्ण धरावासी आफ्नो जीवनका अनेक आयाम, पीडा र प्याटर्नबारे बोलिरहेका थिए । लामो भाषणमा उनले एक वर्षअघि आफूलाई छाडेर परलोक भएकी पत्नी सीतालाई सम्भिmए ।
नजिकै बसेर धरावासीलाई सुनिरहेका हास्य कलाकार हरिवंश आचार्य पनि भावुक थिए, सायद उनी पनि एक वर्षअघि धरती छाडेकी जीवनसंगिनी सम्भिmरहेका थिए । धरावासी उपस्थित थिए- आफ्नो २०औं पुस्तक पाण्डुलिपिका साथ । अरु थुप्रै अतिथि पाण्डुलिपि लोकार्पण प्रक्रियाका साक्षी बनिरहेका थिए । धरावासीले पत्नी सीताले छाडेर गएपछिको अवस्था र उनीसँग बिताएका रोमाञ्चक कालखण्डलाई जीवनको  महत्त्वपूर्ण प्लटका रूपमा पुस्तकीकृत गरेका छन् । अक्षर क्रियसनले प्रकाशन गरेको पुराना सम्झनाको
यो सँगालोले सबैलाई आफ्नी आमाप्रति अझै सम्मानभाव दर्साउनुका साथै श्रीमतीलाई माया गर्न सिकाउँछ ।
जीवनसंगिनीको स्वर्गवासको एक वर्षपछि उनैलाई समर्पित गरेर प्रकाशित आत्मकथा विमोचनको त्यस कार्यक्रममा धरावासीले पत्नी सीतालाई सम्भिएनन् मात्र, नारीजातिप्रति उच्च सम्मानभाव पनि देखाए । उनले हरिवंशलाई फेरि विवाह गर्न सुझाब दिए र आफूले पनि आवश्यक परे फेरि विवाह गर्न सक्ने बताए । ‘फेरि विवाह गरे पनि सीताजीप्रति मेरो सम्मानभाव र मायामा कमी हुँदैन’ -उनले भने । कार्यक्रममा धरावासीले पत्नी सीताका नाममा हरेक वर्ष आत्मसंस्मरणमा कलम चलाउने उत्कृष्ट नारीस्रष्टालाई दिने गरी दुई लाख रुपियाँ राशिको पुरस्कार पनि घोषणा गरे । पाण्डुलिपि उनको यसअघिको आत्मकथा आधा बाटोको दोस्रो भाग हो ।

प्रतिक्रिया