‘लोकतान्त्रिक संविधान बनाउन सुझाव’

काठमाडौ, ९ वैशाख । नेपाल भ्रमणमा रहेका भारतीय बिभिन्न नेताहरुले जेठ १४ भित्रै नेपालमा लोकतान्त्रिक नयाँ संबिधान जारी हुनेमा विश्वास ब्यक्त गरेका छन् । उनीहरुले लोकतान्त्रिक संविधान बनाउन सबैले ध्यान दिनुपर्ने सुझाव दिए ।
राजधानीमा आज आयोजित साक्षात्कारमा नेपालको शान्ति, लोकतान्त्रिक संबिधान, विकास र समृद्दि भारतीय चाहना रहेको उनीहरुले बताएका छन् । भारतीय जनता पार्टीका बिदेश बिभाग प्रमुख एवं प्रवक्ता विजय जोलीले नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा रहेको उल्लेख गरे । उनले नेपालको शान्ति प्रक्रिया अघि बढेकोमा स्वागत गर्दै तोकिएकै मितिमा नयाँ संबिधान जारी हुने विश्वास ब्यक्त गरे ।
भाजपा प्रवक्ता जोलीले नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुको अखडा बन्न नहुने बताएका छन् । उनले नेपाललाई भारत बिरुद्द दुरुपयोग या उपयोग नहोस् भन्ने भारतको चाहना रहेको बताए ।
नेपाल र भारतबीच खुल्ला सीमाना रहेको तथा बिना रोकटोक आवात जावत हुने गरेको बताउदै उनले खुल्ला सीमानाको दुरुपयोग हुन नहुने बताएका छन् ।
भारतीय राष्ट्रवादी कंग्रेसका महासचिव एवं सांसद तारिक अनवरले नेपालमा लोकतान्त्रिक र सशक्त संबिधान निर्माण होस् भन्ने पक्षमा भारत र भारतीय जनता रहेको बताए । नेपालको शान्ति, स्थिरता, विकास, जनताको सुरक्षा, धर्मनिरपेक्षताका पक्षमा भारत रहेको उनले बताए ।
उनल भने ‘शान्ति प्रक्रिया टुंगिएर संबिधान जारी भएपछि भारतले नेपालको विकासमा बिशेष सहयोग घोषणा गर्नेछ ।’
भारतीय सत्तारुढ दल कंग्रेस आईका प्रवक्ता एवं सांसद रासिद अल्विले भारत हमेशा नेपालको साथमा रहने विश्वास ब्यक्त गरे । उनले भारतले नेपालमा बर्षेनी भारु दुई हजार करोड लगानी रहेको दाबी गर्दै भारत सरकार र जनताको निरन्तर सहयोग रहने विश्वास दिलाए ।
नेपालमा नयाँ संबिधान जारी गर्न अत्यन्तै कम समय बांकी रहेको भन्दै लोकतान्त्रिक नयाँ संबिधान निर्माण भए भारत र भारतीय जनता खुशी हुने बताए ।
रसिदले नेपालमा सरकार बनाउने या गिराउने, प्रधानमन्त्री कसलाई बनाउने भन्ने जस्ता बिषयमा नेपाली जनता र यहाँकै दलहरुको भूमिका रहने बताए ।
नेपालमा कुन खालको संघीय संरचना हुने, जातीय या क्षेत्रका आधारमा संघीयता हुने भन्ने बिषय नेपाली राजनीतिक दल र जनताले निक्र्यौल गर्ने बिषय भएको रसिदको प्रतिक्रिया थियो ।
भारतीय युवा नेतृ तथा तृणमुल कंग्रेसकी सांसद सताब्दी रायले नेपालको विकासमा भारतले सबै प्रकारको सहयोग गर्ने बताइन् ।
भारतीय राष्ट्रिय कंग्रेसकी भूतपूर्व सचिव एवं युवानेतृ अल्का लावाले नेपाल र भारत भाई—भाईको संबन्धमा अघि बढिरहेको भन्दै नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुनेमा आफूहरु आशावादी रहेको बताइन् ।

प्रतिक्रिया