राजारामको हस्तरेखा र वीरे माझी

चिन्नु न जान्नु के थितरिएकी !’ बारीतिरबाट एउटी आइमाई फतफताई । बारीको डिलनिर क्यात्तुकेको बारबाट सलजस्तै पातली केटी मलाई भीमटार जाने बाटो देखाउँदै थिई । उताबाट बारुलो भुनभुनाएजस्तै आमा कराउन थालेपछि केटी चनाखी भई र आँखा सन्काएर इसारा गरी ‘त्यतैतिर हो ।’ ‘परचक्रीलाई घरको मटानैमा बास दिने नेपाली संस्कृति बटुवासँग बोल्न पनि के विधि डराउने अवस्थामा पुगेछ’ गाउँले संस्कारमाथि मनमा एउटा प्रश्न उब्जियो अनि बिलायो । एउटा बोलीले निमेषमै ल्याउने भयंकर दुर्घटनासँगको सतर्कता हुनुपर्छ । आमा कराएपछि केटी सतर्क भई । लोखर्के शैलीमा ऊ बारबाट बारीतिरै हामफाली । म यात्रा तन्काउँदै अघि बढेँ ।
भीमटार थलीको बगैँचामा खेल्दै गरेको आँपका फूलको बस्ना हावाले घरीघरी नाकसम्म ल्याउँथ्यो । थाप्लामाथि चैते घाम बजारिएर गर्मीले शिथिल शरीर वरको छायामा टाँस्सिन खोज्यो । वरिपरि केही बाख्रा दुबोको मुन्टा चरिरहेका थिए र ओठमाथि रातो सिँगाने खत बसेको एउटा केटो सिप्कानाले बाख्रालाई खेद्न खोज्दै थियो । भर्खर रोएर थाकेजस्तो देखिन्थ्यो ऊ । मेरो पिठ्युँको झोला देखेर भयभीत थियो कि, अनुहार उति पढ्न सकिनँ । बगैँचा पर्तिर काजीको हवेलीमा हँसिया हथौडा अंकित केही राता झन्डा फहराइरहेका थिए । गाउँमा नयाँ मानिसको आगमन भयानक दुर्घटनाको पूर्वाभाषजस्तै ठान्न थालिएछ । नयाँ मान्छे आयो कि भुइँचालोअघि टठिएका जनावरजस्तै लाग्थे मानिस । उनीहरू आगन्तुकतिर आश्चर्यसूचक नजर हुत्याएर चुपचाप सुत्त बाटो लागिहाल्थे । पारी भीमटारमा काजीको बगैँचा र जीर्ण हवेली छ । सिंगो पञ्चायती व्यवस्थाभरि यही हवेलीमा बसेर काजी नेत्रविक्रमले सिन्धुपाल्चोक जिल्लालई जुवामा नारे । व्यवस्थाको परिवर्तनसँगै काजी पुरानिँदै गए । चुक राखेको तामाजसरी नै उनको हवेली उग्लिँदै थियो । ‘जनयुद्ध’को लहर गाउँमा छिरेपछि हवेलीमा हँसिया-हथौडा फहराइरहेको छ र बगैँचामा छापामारहरूको रजगज छ । वारि ढाँडखोलामा अस्ति भर्खरै काभ्रेको देउपुरतिरका राजाराम बरिया र शेरसिंह सैनिक कारबाहीमा मारिए । सिपाघाट बजारबाट लतारिँदै लगेको उनीहरूको लास देखेका केटाकेटीले नयाँ मान्छे देख्नासाथ खापाको कापबाट मात्रै बाहिरको उज्यालो हेर्ने बानी बसालेका छन् ।

इिन्द्रावती तरेर बगर छिचोल्दै गर्दा सैनिक कारबाहीमा मारिएको राजारामको अनुहार आँखाको बाहिरी पत्रमा खेल्न थाल्यो । देउपुर मामाघरमा बस्दाको मेरो बालसखा थियो ऊ । गोठालाहरू वस्तु लिएर गोठ छिर्ने बेला भएको थियो । मेलापात गएका खेताला पनि घर र्फकंदै थिए । गोरेटोछेवैको गाउँले चिया पसलामा थिएँ म । खिरिलो ज्यानको केटो सुत्त भित्र छिरेर हात मिलायो । पिठ्युँको गह्रौँ झोलाले काँध लच्किएको देखिन्थ्यो । पछिपछि आएकी केटीको पनि पिठ्युँमा झोला थियो । हरियो कुर्था सुरुवाल लगाएकी त्यसले लामो कपाललाई पछाडी खैँचेर गजो बाँधेकी थिई । गोरो पातलो छाला भएर हो कि अनुहार उग्लिएको फुस्रो थियो । स्याप्प बसेका गालाको टुप्पातिर आँखामुनि हड्डी उठेको र त्यहीँ वरिपरि कालोकालो दाग देखियो बिजुलीको उज्यालोमा । ‘कस्तो चल्दै छ, मित्र तपाईंको जिन्दगी !’ राजारामले हात मतिर तेस्र्याउँदै सोध्यो र एकफेर दायाँबायाँ नजर घुमायो । सायद आफ्नो सुरक्षाका लागि चनाखो हुनुपर्ने भएकाले छापामारहरूका चारैतिर पो आँखा हुन्छन् कि भन्ने भान पार्‍यो उसले । भूमिगत हुनुअघिको ‘तँ’ सम्बोधन मेटाएर उसले पहिलोपल्ट मलाई तपाईं लगाएको थियो । स्कुले जीवनमा हामी ‘तँ-तँ, म-म’मै घन्टौँ राजनीतिक बहस गथ्र्यौं । भूमिगत भएर अलप भएपछिको यो पहिलो भेट थियो ।
चिया दुकानका मानिस चुपचाप थिए । राजारामले मौन भिड छिचोलेर एकान्तमा कुरा गर्ने रुचि देखाएपछि हामी भित्र छिर्‍यौँ, केटी पनि हाम्रै पछि लागी । ‘उहाँ कमरेड सपना, पोलटिकल कमिसार नै हुनुहन्छ’ सँगैकी केटीलाई चिनायो उसले । गजक्क परेर उसले मतिर हात पसारी र पाखुरा झड्कने गरी हात मिलाई । ‘उहाँ मेरो बाल्यकालको साथी’ उसले मलाई चिनायो । ‘सपना’ राम्रो नाम राख्नु भएछ’ मेरो ठट्यौलो जिज्ञासा भुइँमा नपोखिँदै उसले भनी, ‘हो, नाम मात्र होइन, हामीसँग देशै बदल्ने सपना छ ।’ लाग्यो, ‘गरिबका सपनामा कति खेल्न सक्छन् मानिसहरू !’ आफ्नै जीवनका विषयमा उसले के सपना देख्दी हो, जब देशै बदलिदिने सपना मेरा सामु देखाइदिन खोज्छे त्यो केटी । सपनाका विषयमा म अझै गहिरिएर सोच्न थालेँ, ‘के सपनाका रंग हुन्छन् ? नभए, लालित्यपूर्ण रङको चमक अनुहारमा फुल्नुपर्ने उमेरकी यो केटी खुइलिएको अनुहार लिएर मुलुक बदलिदिने रंगीन सपना कसरी देख्दी हो ! ‘सपनाको गर्भाधान कसले गरिदिन्छ, नेताले कि सामाजिक चेतनाको चापले !’ फेरि अर्काे तर्कना मनमा खेल्न थाल्यो । कोही सपनाका लागि सहिद हुन्छन् र कोही अर्काका सपनालाई सहिद बनाएर सत्ताको खुट्किला चढ्छन् । प्रसंगमा राजारामले स्कुले जीवनको कुरा निकाल्यो । हामीले स्कुले जीवनमै गैरीबिसौनाको पीपलचौतारीमा बसेर त्यहीँको एकजना ठुटेज्योतिषीलाई आफ्नो हात हेराएका थियौँ ।
िि
‘िराजयोग देखाउँछ तिम्रा रेखाले, राजा नभए पनि राजासमान’ राजारामको हात हेर्दा ज्योतषीले चिउँडाका दाह्री कन्याउँदै भनेका थिए । त्यसबेला चम्केको राजारामको अनुहार हेरेर मलाई ईष्र्या लागेको थियो । उसका हत्केलाका रेखाहरू ढाँडखोलामा लास घिसारिनुअघि कति बदलिएका थिए, मैले हेर्न पाइनँ । बरु उसको मृत्युको शोकभन्दा हिंसाको भुइँचालोले भयभीत मानिसहरू देखिरहेछु देउपुरपारिको भीमटार पुग्दा । हत्केलाका रेखाहरू सबैका उस्तै हुन्छन् कि हुँदैनन् ? चर्का घाममा बगरबाट उकालो लाग्दै गर्दा प्रश्न झ्यास्स उठ्यो । त्यतिबेला मैले नाम मात्रै सुनेका माओवादी अध्यक्ष प्रचण्डको हस्तरेखा मेरो राजारामको हातका रेखासँग मिल्छन् कि मिल्दैनन् ? दन्त्यकथाका तेजस्वी पात्रजस्तै लाग्ने प्रचण्डलाई आजसम्म आइपुग्दा मैले देख्न पाएको छु, उनका हातका रेखा हेरेको छैन । आज आएर गम्छु, ‘एउटै वर्गयोद्धाका हातका रेखा र सपनाहरू पनि उस्तै हुने भए मेरो साथी राजाराम कारको शिशा खोलेर मलाई बोलाइरहेको हुन्थ्यो कि !’ उसले कुनै दिन कार चढेको र कमरेड सपनाजस्तै योद्धाहरूलाई कारमा राखेर हिँडेको सपना देखेको थियो कि थिएन मैले सोध्न पाएको थिइनँ । प्रचण्डका छोराहरू कार फेरी-फेरी चढ्छन्, अझ पेट भर्ने समस्याले दुनियाँले सामूहिक आत्महत्याको बाटो रोजेका बेला सानदार सगरमाथा चढ्छन् । लाग्यो, प्रचण्डहरूको एउटै निर्णयले मेरो साथीका हात्केलाका रेखाहरू उहिल्यै मेटिए, १० वर्ष लडाइँ र ५ वर्ष क्यान्टोनमेन्टमा बसेर र्फकेका गरिबहरूका हत्केलाहरू आजै मेटिइरहेछन् ।

गिएको वर्ष दसैँमा मामाघर पुग्दा फेरि एकपटक भीमटार जान मन लाग्यो । उही काजीको बगैँचानजिकै बिसौनीमा धोक्रो बिसाएर बसेका छन् वीरे माझी । चुरोटको बाक्लो कसले पुरै कालो भएको ओठ । पछिल्तिर नाति लठ्ठीले भुइँमा चित्र कोर्दै थियो । अविरल बगेको इन्द्रावती हेरिरहेका थिए उनी । नाति छिटो घर जान खर्खर्ती लगाइरहेको थियो । ‘यो मेरो पुच्छरै हो, एकबित्ता छोड्दैन,’ नातिका विषय मैले गरेको प्रश्नमा उनले दिएको उत्तर हो यो । अलि तल इन्द्रावती अफ्नै बेगमा बगिरहेको छ । पारिपट्ट बगैँचामा आँपका रूखहरू हिउँदको संकेत गर्दै सिक्रा देखिन लागेका छन् । वीरेलाई देखेपछि रमेश विकलले लेखेको ‘अविरल बग्दछ इन्द्रवती’को कथा दिमागमा आयो ।
आज काजीको जमाना पनि छैन र उनका सन्तान हवेलीमा पनि बस्दैनन् । आँपका बगैँचा माओवादी कार्यकर्ताको आम्दानीस्रोत बनेको छ । माझीहरू जसले काजी खान्दानसँग पुख्र्यौली संघर्ष गरेका थिए, कोदोबारी पनि छैन । उमेर पुगेका कोही छैनन् गाउँमा । बर्खाले खियाएका छाप्रे घरभित्र बूढाबूढी र केटाकेटी मात्र । वीरेसँगको बसाइ पञ्चायतको काजीकाल, बहुदलीय प्रजातन्त्र र अहिलेको गणतन्त्र सबैको एउटै सिनेमा हेरेजस्तै लाग्यो । उनले बाजेसँग अँगेनाछेउ बसेर सुनेका पुर्खाका कथा मलाई सुनाए । मेरो साथी राजाराम र ऊजस्ता हजारौँको ज्यान लिएको ‘जनयुद्ध’ले पनि केवल काजी फेर्‍यो, सिंगै मुलुक बदलिदिने सपनाको बलिदानीमा राजधानी र सहरहरूमा नयाँ काजीहरूलाई जन्म दियो । साथी राजाराम गइसक्यो, वीरे र उनका सन्तान उस्तै छन् ।

प्रतिक्रिया