पिटले रुवाए एन्जेलिनालाई

ब्राड पिट र एन्जेलिना जोली हलिउडका सर्वाधिक चर्चित जोडी हुन् । ‘मिस्टर एन्ड मिस स्मिथ’ जस्ता कैयौँ सुपरहिट फिल्ममा सँगै काम गरेका उनीहरु वास्तविक जीवनका पनि ‘जोडी’ नै हुन् । उनीहरुका ६ छोराछोरी छन् । उनीहरु श्रीमान्-श्रीमती भने होइनन् न त उनीहरुले एकअर्कालाई प्रेमी अथवा प्रेमिकाको संज्ञा नै दिएका छन् तर उनीहरु सँगै बस्छन् ।
पिटका कारण एन्जेलिना रोएपछि उनीहरुको चर्चा पुनः सञ्चारमाध्यममा छाएको छ । पिटले दुःख दिएर एन्जेलिना रोएकी भने होइनन् । पिटले गरेको प्रेम प्रस्तावले एन्जेलिनालाई हर्षका आँसु झार्न बाध्य बनाएको हो ।
‘पिटले एन्जेलिनासमक्ष छोराछोरीकै सामु प्रेम प्रस्ताव राखे । प्रस्ताव सुनेर एन्जेलिनाको आँखामा आँसु र मुखमा हाँसो एकैसाथ देखियो,’ कन्ट्याकम्युजिक डटकमले लेखेको छ । घटनाले छोराछोरीलाई पनि असाध्यै प्रसन्न बनाएको थियो । सबैजनाले एकअर्कालाई अँगालो मारे । त्यतिबेला पूरै परिवार भावविह्वल बनेको समाचारमा उल्लेख छ । उनीहरुको विवाह चाँडै हुने बताइएको छ ।

प्रतिक्रिया