सशस्त्र प्रहरीद्वारा हतियार बरामद

कैलाली, ८ वैशाख । सशस्त्र प्रहरीले कैलालीको सुगरखाल–९ को भालुमारामा हतियारका साथै म्यागजिन र गोली बरामद गरेको छ । सशस्त्र प्रहरीले हतियार बरामद गरेपनि त्यसमा संलग्न भने कोही पक्राउ गरेको छैन् ।

बलिया गाविसको डुडेझाडीमा रहेको सशस्त्र प्रहरीको वेस क्याम्पबाट गएको गस्ती टोलीले बिहीबार राति विशेष सुराकीले दिएको जानकारीको आधारमा भालुमाराको खोचमा लुकाई राखिएको अवस्थामा उक्त हतियार सहित म्यागजिन र गोली बरामद गरेको सुदूरपश्चिम सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीले जनाएको छ ।

हालै एमाओवादी लडाकाको पुनःवर्गिकरण सकिएको बेला हतियार सहित म्यागजिन र गोली बरामद हुनु अर्थ पूर्ण रुपमा सुरक्षा निकायले लिएका छन् । गस्तीमा गएको प्रहरीको टोलीले लुकाईछिपाई राखेको अवस्थामा एलएमजी २४ थान, बारबोर दुई थान, एसएलआर म्यागजिन एक थान र सो को गोली आठसय ६० तथा इन्सास म्यागजिन पाच थान र सो को गोली एक सय छ बरामद गरेको हो ।

बरामद गरिएका हतियार बारे एकछिन पछि सशस्त्र प्रहरीको बैद्यनाथ बाहिनीले सार्वजनिक गर्ने बताएको छ ।

शान्ति प्रक्रिया सुरु भएपछि यसरी ठूलो परिणाममा हतियार बरामद गरिएको सम्भवतः पहिलो घटना भएको सुरक्षा सम्बद्ध अधिकारीले बताएका छन् । शान्ति प्रक्रिया सुरु भई टुंगिने अवस्थामा रहेको बेला हतियार बरामद हुनुले फेरी शान्तिसुरक्षामा गम्भिर शंका उब्जेको छ ।

बिहीबार मात्र कैलालीको लम्कीमा रिपार्टस क्लवले गरेको साक्षात्कार कार्यक्रममा एमाओवादीका स्थायी समिति सदस्य नेत्रबिक्रम चन्दले जनमुक्ती सेनालाई कुनै ठोस मापदण्ड तथा निर्णय बिना नेपाली सेनाको मातहत राखेको भन्दै असन्तुष्टी जनाउदै जनमुक्ती सेना बिद्रोहमा उत्रि सकेको बताएका थिए । (फाईल फोटो)

प्रतिक्रिया