काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सबै समूह, जातजाति, अल्पसंख्यक, दलित, मुस्लिमलगायत अधिकार समेटेर पहिचान सहितको संघीयता बनाउने बताएका छन् ।
महाराजगञ्जस्थित निवासमा आज विहान नेपाल आदिवासी जनजाति महासंघको ज्ञापन पत्र बुझेपछि कोइरालाले कांग्रेस संघीयता बिरोधी पार्टी नभएको बताए । उनले भने, ‘कांग्रेस संघीयता बिरोध पार्टी होइन, सबैलाई समेट्ने संघीयताको पक्षमा छ ।’
जातीयताका आधारमा मात्रै संघीय राज्य बनाउने पक्षमा आफूहरु नरहेको भन्दै सभापति कोइरालाले पहिचान, भाषा, भूगोल, अल्पसंख्यक, सवै जातजाति लगायत सबै बिषयको अध्ययन र सुझाव अनुसार संघीयता बनाउने बताए ।
उनले मुलुक संघीयतामा प्रवेश गरिसकेको भन्दै संघीयता बिहिन संविधान आउछ भनेर आशंका नगर्न आग्रह गरे ।
मुलुकमा भएको ऐतिहासिक परिवर्तनलाई टुङगोमा पुराउन जिम्मेवार हुनुपर्ने कोइरालाको भनाई थियो । उनले सबै राज्य पुनर्संरचना र संविधानमा आएका सुझाव अनुसार नै राज्य पुनर्संरचना गरिने बताए ।
जातीय पहिचानका आधारमा संघीयता राज्य बनाउनु पर्ने, संघीय राज्यको संख्या कम गर्न नपाईने लगायतका माग राखेर महासंघ आन्दोलनमा उत्रिएको छ ।
यस अघि महासंघले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो ज्ञापन पत्र बुझाई सकेको छ ।
प्रतिक्रिया