थानेश्वरको सातौं विश्वकीर्तिमान

काठमाडौं, ७ वैशाख । खेलसँग जोडिंदै पृथक तरिकाले विश्वकीर्तिमान बनाइरहेका सुनसरीका थानेश्वर गुरागाईंले सातौं कीर्तिमान बनाएका छन् ।
यसअघि ६ वटा कीर्तिमान गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गरेका यी युवाले टुथब्रस मुखमा राखेर यसको टुप्पाले बिहीबार कीर्तिमानी समयसम्म बास्केटबल अडयाएका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामा सञ्चारकर्मीको उपस्थितिका बीच २२ वषर्य थानेश्वरले २२.४१ सेकेन्डसम्म बास्केटबल त्यसरी अडयाएर कीर्तिमान बनाएका हुन् । यद्यपि, यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले मान्यता दिन बाँकी नै छ ।
यसअघि बेलायतका थोमस कोन्नोर्सको नाममा रहेको यो कीर्तिमानको समय १३.५ सेकेन्ड थियो । उनले तीनपटकसम्म प्रयास गर्दा तेस्रोमा २२.४१ सेकेन्डको समय निस्किएको थियो । गुरागाईंले भिडियो क्लिप्ससहित कीर्तिमान दाबीका लागि चाँडै पठाइने जानकारी दिए ।
खेलाडी नभए पनि थानेश्वरको कीर्तिमान बनाउने साधन भने खेलकै ‘किट्स’ बन्ने गरेको छ । यसअघि केही महिनापहिले थानेश्वरले एकदिन तीनवटा विश्वकीर्तिमान बनाएका थिए । ती तीनवटै कीर्तिमान टेनिस र्‍याकेटसँग सम्बन्धित छन् । र्‍याडिसन होटलमा आयोजित कार्यक्रममा उनले जाली नभएको टेनिस र्‍याकेटलाई एक मिनेटमा ३८ पटक शरीरमा छिराएर, तीन मिनेटमा ९६ पटक टेनिस र्‍याकेटलाई शरीरमा छिराएर र ४.९१ सेकेन्डमा तीनपटक टेनिस र्‍याकेटलाई शरीरमा छिराएर ती कीर्तिमान बनाएका थिए । उनका अन्य कीर्तिमान भने दुई बास्केटबलसँगै सम्बन्धित छन् भने थप एक स्वयं गिनिज बुकसँग । एक मिनेटमा ४ सय ४४ पटक बास्केटबल बाउन्स गरेर विश्वकीर्तिमान बनाएका उनले गिनिज बुकलाई ३० मिनेटसम्म एउटा औंलाको टुप्पामा अडयाएर आफूलाई विश्वमै सबैभन्दा अगाडि ल्याएका थिए ।
त्यस्तै बास्केटबललाई ३० सेकेन्डमा कम्मरको वरिपरि घुमाएर गिनिज बुकमा उनले थप शीर्षकमा नाम लेखाएका हुन् । कम्तीमा ५० विश्वकीर्तिमान बनाउने आफ्नो योजना रहेको यी बहुकीर्तिमानीले सुनाए ।

प्रतिक्रिया