आजबाट राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं : नेपाल चलचित्र विकास बोर्डको आयोजनामा आजबाट मोफसलमै पहिलोपटक सुर्खेतमा राष्ट्रिय चलचित्र महोत्सव सुरु हुने भएको छ । महोत्सव उद्घाटन गर्न सञ्चारमन्त्री राजकिशोर यादव, शान्तिमन्त्री सत्या पहाडी र संस्कृतिमन्त्री लोकेन्द्र विष्ट मगर सुर्खेत पुग्ने बोर्ड अध्यक्ष गणेश भण्डारीले बताए । मंगलगडी चोकबाट झाँकीसहितको र्‍याली नगरपरिक्रमा गर्दै घन्टाघरअगाडिको खुलामञ्चमा पुगेपछि उद्घाटन हुने महोत्सवमा राष्ट्रिय स्तरका कलाकार, चलचित्रकर्मी तथा पत्रकारको सहभागिता रहने आयोजकले जनाएको छ ।
आजबाट १० वैशाखसम्म चल्ने तीनदिने महोत्सवमा फूल, सायद, किसान, मसान, ठेगाना र ब्रुहान गरी ६ चलचित्र प्रदर्शन हुनेछन् । सुर्खेत नेपाली चलचित्रका लागि सम्भावना बोकेको ठाउँ भएकाले यहीँ महोत्सव गरिएको बोर्डका सदस्य निलहरि काफ्लेले बताए । यसबाट मोफसलका दर्शकले कलाकारसँग प्रत्यक्ष घुलमिल हुन पाउने र उनीहरूबीचको सम्बन्ध थप सुमधुर हुने आयोजक बताउँछन् ।
सरकारी स्तरबाट पहिलोपटक मोफसलमा हुन लागेको महोत्सवमा चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्वकलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघलगायत संघसंस्थाले भने सहभागिता नजनाउने भएका छन् । चलचित्रका दृष्टिले महत्त्वपूर्ण नमानिएको स्थानमा राष्ट्रिय स्तरको महोत्सव गर्न लागिएको र आयोजकले त्यसबारे कुनै सल्लाह नगरी एकैचोटि सहभागिताका लागि पत्र थमाइएको भन्दै उनीहरूले विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया