राखीको टिक्ने मन्त्र

मुम्बई : प्रायः कामुक ‘मसलाहरू’ पस्किएर बलिउडमा राज गर्न सफल आइटम गर्ल राखी सावन्तले चलचित्र क्षेत्रमा टिक्न र बिक्नका लागि मसालेदार आइटम प्रस्तुत गर्नुपर्ने बताएकी छन् । बलिउडमा प्रवेश गर्दाताका आफ्नो शिरमा हात राखिदिने कोही नभएकाले आफूले पनि त्यही तरिका अपनाएको उनले सुनाइन् । भनिन्, ‘त्यस्ता मसलाले मलाई व्यावसायिकता दिलाए, सबैको ध्यान मतिर खिचियो ।’ उनका अनुसार जति संघर्ष गर्दा पनि कसैले वास्ता नगरेपछि उनी कामुक शैलीमार्फत दर्शकको ध्यान तान्ने मनस्थितिमा पुगिन् र स्थापित पनि भइन् । त्यसो त यस्तै प्रस्तुतिका कारण उनी बेलाबखत विवादमा पनि परिरहन्छिन् । त्यसबाहेक उनको प्रेमसम्बन्धको चर्चा पनि कम हुँदैन । हाल उनी दक्षिण भारतीय अभिनेता धनुषका साथ रोमान्समा रहेको एजेन्सीले उल्लेख गरेको छ । धनुषका साथ कोलाबेरी डी गीतमा अभिनय गर्नुर्परेकाले सँगै रहेको उनले बताइन् । तर, छायांकनको अन्तिम समयमा आएर धनुषले उनीसँग नृत्य गर्न अस्वीकार गरेको एजेन्सीले उल्लेख गरेको छ ।

प्रतिक्रिया