देशभर जाँदै ‘इकु’

काठमाडौं : आजबाट उपत्यकाबाहिर तथा उपत्यकाभित्रबाट एकसाथ चलचित्र इकु ब्याक अगेन प्रदर्शनमा आउने भएको छ । यसअघिका प्रायः शुक्रबार दुई वा दुईभन्दा बढी चलचित्र भिड्ने गरेकामा यो चलचित्रले भने एक्लो प्रवेश पाएको छ । टेलिशृंखला मेरी बास्सैमा इकु नामक पात्रको भूमिकाबाट चर्चा कमाएका सुलेमान शंकरले यो चलचित्र निर्माण गरेका हुन् । यो चलचित्र यसअघि उनैले बनाएको इकुको सिक्वेल हो । सागर लामिछानेको निर्देशनमा तयार भएको यस चलचित्रमा सुलेमान शंकर, जया शंकर, रवि डंगोल, विष्णु सापकोटा, पुरुषोतम प्रधान, रश्मि भट्ट, रवीन पोखरेल, वसन्तराज रिजाल, शान्ताराम शाहीलगायत कलाकार मुख्य भूमिकामा छन् । एएमएस फिल्म्स् प्रालिको ब्यानरमा निर्मित चलचित्रको छायांकन पुरुषोेतम प्रधानले गरेका छन् भने संगीत विपिन आचार्य र द्वन्द्वनिर्देशन रोशन श्रेष्ठको छ । बुद्धिलाल मगर निर्माता रहेको यो चलचित्रको प्रमोसनका लागि एलेभन थर्टी ब्यान्डले छुट्टै गीत पनि तयार पारिदिएको छ । मूलधारका भन्दा फरक शैलीको चलचित्र निर्माण गर्ने उद्देश्यले इकु ब्याक अगेन बनाइएको निर्माता मगरले बताए । बालबालिकाप्रति लक्षित यस चलचित्रमा राउटे समुदायभित्रको विषयवस्तु पनि समेटिएको बताइन्छ ।

प्रतिक्रिया