नाचघरका कर्मचारी आन्दोलित

काठमाडौं, ७ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई वर्ष बितिसक्दा पनि आङ्खनो उजुरीमा सामान्य छानबिनसमेत नगरेको भन्दै नाचघरका कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले कृष्ण गुरुङको नेतृत्वमा संघर्ष समितिसमेत बनाइसकेका छन् ।
संस्थानका पूर्वमहाप्रबन्धक लक्ष्मण रायमाझीले करोडांै रकम अनियमितता गरेको भन्दै राष्ट्रिय नाचघरका कर्मचारीले दुई वर्षअघि आयोगमा उजुरी दिएका थिए । संस्थानमा भएको अनियमितता छानबिन गर्न माग गर्दै ६० भन्दा बढी कर्मचारीले उजुरी दिए पनि अख्तियारले अहिलेसम्म सामान्य छानबिनसमेत नथालेको कर्मचारीको आरोप छ ।
भवन निर्माण, गाडी पार्किङ तथा सपिङ कम्पलेक्स भाडामा दिने सम्झौता गर्दा करौडौं रकम अनियमितता भएको दाबी गर्दै कर्मचारीले २८ फागुन ०६६ मा उजुरी दिएका हुन् । ‘हाम्रो माग कसैलाई कारबाही गराउने होइन, नाचघरभित्र भ्रष्टाचार गर्नेलाई कारबाही गराउने उद्देश्य हो,’ संघर्ष समितिका संयोजक गुरुङले भने । राजनीतिक नियुक्तिबाट आउने महाप्रबन्धकले आर्थिक हिनामिना गर्दै जाने र कुनै प्रकारको कारबाही नहुने भएपछि छानबिनका लागि अख्तियारमा उजुरी दिइएको आन्दोलित कर्मचारीले बताएका छन् । ‘अख्तियारले छानबिनसमेत गरेन,’ गुरुङले भने, ‘बेनामे उजुरी दियौ तैपनि अख्तियारले चासो देखाएन ।’
प्रतिष्ठानले नाचघरको भवन निर्माण गर्न ठेकेदार कम्पनीसग आठ करोडको सम्झौता गरेको थियो । ‘तर २३ करोडको भुक्तानी देखाइएको छ,’ गुरुङले भने, ‘सम्झौताभन्दा तेब्बर बढी रकम कसरी भुक्तानी भयो ?’ आठ करोडको सम्झौतामा पूर्वमहाप्रबन्धक रायमाझीले २३ करोड भुक्तानी दिएको अख्तियारमा पठाइएको उजुरीमा उल्लेख छ । तीन वर्षअघि निर्माण सम्पन्न भए पनि ठेकेदार कम्पनीले अहिलेसम्म भवन हस्तान्तरण गरेको छैन । गुरुङले भने, ‘आर्थिक अनियमितता भएपछि कसरी हस्तान्तरण गर्नु ।’ हस्तान्तरण नहुदै तत्कालीन महाप्रबन्धक रायमाझीले १८ असोज ०६५ मा भवनको उद्घाटन भने गराइसकेका गुरुङले बताए ।
कर्मचारीका अनुसार भवन निर्माण भएको तीन वर्षमै ठाउ–ठाउमा भत्किसकेको छ । ‘स्टेजको पछाडि रहेको रिहर्सल कक्ष पूर्णरूपमा चर्किसकेको छ,’ अर्का अधिकृत खड्गबहादुर बुढाले भने, ‘भवन कमजोर मात्र होइन, साउन्ड सिस्टम, पर्दा, फर्निचर पनि कमसल गुणस्तरका छन् ।’ पूर्वमहाप्रबन्धकको मिलेमतोमा अनियमिता भएको ठहर गरेपछि आफूहरूले अख्तियारमा उजुरी दिएको तर अख्तियारले हालसम्म छानबिन नथालेपछि आन्दोलनको कार्यक्रममा लागेको उनले बताए ।
त्यसैगरी, संस्थानको अन्डरग्राउन्ड पार्किङ र सपिङ कम्प्लेक्स लिजमा दिदा पनि आर्थिक अनियमितता भएको कर्मचारीको दाबी छ । पूर्वमहाप्रबन्धक रायमाझीले टेन्डरविनै तारा ढकाल बिल्डर्स कम्पनीलाई पार्किङ तथा कम्प्लेक्स ३० वर्षका लागि लिजमा दिने निर्णय गरेका थिए । ‘मात्र ८१ लाख रुपिया प्रतिवर्ष रकम बुझाउने गरी गोप्यरूपमा सम्झौता भएको रहेछ,’ गुरुङले भने । तीन वर्षअघि तारा ढकाल बिल्र्डससग सम्झौता भए पनि उक्त बिल्डर्सले दुई वर्षदेखि भाडा बुझाएको छैन । दुई करोड रुपियाभन्दा बढी रकम बुझाउन बाकी रहेको कर्मचारीले बताए । कानुनी रूपमा एउटै व्यक्ति वा कम्पनीलाई ३० वर्षसम्म भवन उपलब्ध गराउने सम्झौता गर्न मिल्दैन । आयोगका प्रवक्ता ईश्वरी पौडेलले भने आयोगमा उजुरी परे ढिलोचाडो छानबिन हुने बताए । ‘नाचघरको उजुरीमा के भइरहेको छ भन्ने ठ्याक्कै थाहा भएन,’ उनले भने, ‘जति ढिलो भए पनि छानबिन हुन्छ ।’

प्रतिक्रिया