२०१० को पुस्तकमा २०१२ को छाप लगाएर बिक्री

काठमाडौ, ५ वैशाख । सत्याल पब्लिकेसनले २०१० मा छापिएका पुराना पाठ्यपुस्तकमा २०१२ मा कतै ‘रिप्रिन्ट’ र कतै ‘रिभाइज’ भएको छाप लगाएर बेचिरहेको छ । २०१०मा छापिएका विद्यालय तहका एक दर्जनभन्दा बढी पुस्तकमा २०१२ मा ‘रिभाइज’ भएको छाप लगाइएको हो ।
सत्याल पब्लिकेसनले पुराना पुस्तक–मा २०१२ को छाप लगाउन दर्जनौं कामदार खटाइरहेको छ । यतिबेला बालाजु गोदाममा २०१२को छाप हान्न कामदार व्यस्त छन् । २०१२ को छाप लगाइएका धेरै पुस्तक बजारमा बिक्री भइसकेका छन् । अधिकांश पुस्तकमा २०१२को छाप लगाएर पुरानो मूल्य कोरेर हटाइएको छ । मूल्य कोरेर हटाइएका पुस्तकमा नया मूल्य राखिएको छैन तर पुस्तक बिक्रेतालाई ‘क्याटलग’मा बढाएर पठाइएको छ ।
पुस्तक छापिएको रङ मिल्नेगरी छाप लगाइएको छ । निलो प्रिन्ट भएको पानामा निलो र कालो भएको पानामा कालो रङको छाप लगाइएको छ । कतिपय पुस्तकमा ले–आउटको ठाउ“मा ‘रिभाइज्ड एडिसन २०१२’ लेखिएको छ । कार्यरत कर्मचारीका अनुसार पहिले नै छापिएका एउटा पुस्तकमा पचास रुपियासम्म मूल्य बढाइएको छ ।
सो पब्लिकेसनको कक्षा आठको ‘सिन्ट्याक्स अ मोर्डन एप्रोच टु इंलिस ग्रामर’ पुस्तक रिप्रिन्ट भनेर २००९, २०१० छापिएको छ । त्यससगै मुनि २०१२ को छाप लगाइएको छ । कक्षा दुईको लर्निङ साइन्स बुकमा ‘रिभाइज्ड एडिसन २०१२’ को छाप लगाइएको छ । २०१०को रिप्रिन्ट र २०१२को छाप लगाइएको पुस्तकमा कुनै फरक छैन । रिभाइज्ड भनिएको पुस्तकमा पनि पहिलेजत्तिकै ७० पृष्ठ र उही विषयवस्तु छन् ।
त्यसैगरी २०१२मा रिभाइज्ड भनिएको पुस्तक कक्षा नौको लर्निङ साइन्स पुस्तकमा र २०१०को रिप्रिन्ट पुस्तकमा कुनै फरक छैन । यी दुवै पुस्तकमा मूल्य उल्लेख छैन । कक्षा दुईको २०१० को रिप्रिन्ट र २०१२ को रिभाइज भनिएको इलिमेन्ट्री म्याथक्याटिक्स पुस्तकमा पनि कुनै भिन्नता छैन् । सो पुस्तकमा ले आउट लेखिएको ठाउमा ‘रिभाइज्ड एडिसन २०१२’को छाप लगाइएको छ । यी पुस्तकमा मूल्य कोरेर मेटिएको छ ।
सत्याल पब्लिकेसनका प्रबन्ध निर्देशक शंकर सापकोटाले सो कम्पनीमा आफू भर्खर आएको र किन त्यसो गरियो भन्ने थाहा नभएको बताए । प्रबन्ध निर्देशक सापकोटाले भने,‘म आएको डेढ दुई महिना भयो, म नआउदै डिसेम्बर जनवरीतिर २०१२, १३ कति बनाउनुपर्ने हो, बनाइसकेका रहेछन् ।’ रिभाइज गर्न नपर्ने भएकाले त्यस्तो गरिएको हुनसक्ने उनको भनाइ छ ।
शिक्षा विभागले मूल्य हटाएर तथा अनावश्यक मूल्य वृद्धि गरेर पुस्तक बिक्री वितरण नगर्न निर्देशन दिए पनि सत्याल पब्लिकेसनले त्यसको उल्लंघन गरेको छ ।

प्रतिक्रिया