‘कुनै जात विशेषलाई विशेष अधिकार हुनु हुँदैन’

काठमाडौं, ५ वैशाख । कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले ६ देखि ८ वटा सम्म राज्य हुने गरि दलहरुका वीच सहमति बनिसकेको दाबी गरेका छन् ।

राजधानीमा आज आयोजित साक्षत्कारमा केसीले जातीयताका आधारमा मात्रै राज्य निर्माण नहुने बताए । उनले भने, ‘जातीय मात्रै होइन, जनसंख्या, संस्कृति, भुगोल र सामथ्र्यको आधारमा राज्य बन्नु पर्छ ।

लोकतन्त्रमा कसैलाई पनि विशेष अधिकार हुन नसक्ने भन्दै केसीले सबै नागरिक बराबर हुने बताए । उनले राज्यलाई अग्राधिकार दिने विषय अस्वीकार हुने बताए ।

मध्यपूर्वमा अहिले लोकतन्त्रका लागि भईरहेका आन्दोलन सबै निरकुंश राष्ट्रपतिका विरुद्ध भईरहेको उदाहारण प्रस्तुत गर्दै उनले संसदीय व्यवस्थानै उचित हुने बताए ।

एमाले सचिव शंकर पोखरेलले कुनै पनि दलले जातीय राज्यको प्रस्ताव औपचारिक रुपमा नल्याएको बताएका छन् ।

उनले भुगोल, जनसंख्या र सामथ्र्यतालाई सन्तुलन मिलाउने गरि प्रदेशको निर्माण हुने बताए ।

शासकीय स्वरुपमा समेत अस्थिरता र निरकुंशतालाई पुनराबृत्ति नहुने गरेर तय गर्नु पर्ने भन्दै उनले निर्वाचन प्रणालिमा प्रत्यक्ष बढी र समानुपातिक कम हुने गरी बनाउने सहमति भएको बताए ।

मधेसमा जति प्रदेश हुन्छ त्यसैकै अधारमा अन्य क्षेत्रमा प्रदेशको निर्धारण हुने सचिव पोखरेलको भनाई छ । उनले भने, ‘कति प्रदेश हुने भन्ने कुरामा मधेसी मोर्चाको भूमिका महत्वपूर्ण हुन्छ ।’

प्रतिक्रिया