बलिउडमा संघर्षरत नेपाली चेलीको हत्या

मुम्बइः बलिउडमा संघर्ष गरिरहेकी नेपाली चेली मीनाक्षी थापाको हत्या भएको छ । एक महिनाअगाडि लोखन्डावालस्थित निवासबाट हराएकी उनको शव टाउको काटिएको अवस्थामा गोरखपुरमा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
हत्याको अभियोगमा मुम्बईको क्राइम ब्रान्चले शनिबार दुईजनालाई पक्राउ गरेको उल्लेख छ । भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ परेका ३६ वषर्ीय अमित जयसवाल र २६ वषर्ीया प्रीति एलभिना सुरिनले मीनाक्षीको टाउको काटेर दुई दिनसम्म राखी फालिदिएको बयान प्रहरीसमक्ष दिएका छन् । हत्यापछि उनको शरीरका टुक्राहरू इलाहावादसम्म पुर्‍याएर फालेको पाइएको प्रहरीले जनाएको छ ।
मधुर भन्डारकरको चलचित्र हिरोइनमा मीनाक्षी जुनियर आर्टिस्टका रूपमा काम गर्ने तयारीमा रहेको बताइन्छ । पक्राउ अभियुक्तका अनुसार मीनाक्षीले उनीहरूलाई आफू सम्पन्न परिवारकी रहेको र चर्चाका लागि मात्र चलचित्रमा काम गर्न लागेको सुनाएकी थिइन् । त्यही आधारमा मीनाक्षीलाई अपहरण गरेर परिवारसँग फिरौती रकम माग्ने योजना उनीहरूले बनाएका थिए । उनीहरूले मीनाक्षीलाई सुटिङका लागि भन्दै इलाहावादमा लगेर बन्धक बनाएको र उनको परिवारसँग फोनमार्फत १५ लाख भारु फिरौती मागेको प्रहरीले उल्लेख गरेको छ । मीनाक्षीको परिवारले देहरादुन प्रहरीमा अपहरणबारे उजुरी लेखाएपछि अपहरणकारीले उनको हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । यसबीच मीनाक्षीका भाइ नवराजले अपहरणकारीलाई ६० हजार भारु दिइसकिएको उल्लेख गरे । मीनाक्षीकी एक साथीका अनुसार उनी हिरोइनमा नायिका करिना कपुरसँग काम गर्न पाउनेमा निकै उत्साहित थिइन् । भन्थिन्, ‘एक दिन म पनि करिनाजत्तिकै चर्चित हुनेछु ।’

प्रतिक्रिया