चार हजार पनि नपुग्ने भए समायोजन रोज्ने

काठमाडौं, ४ वैशाख । माओवादी लडाकु शिविरमा सुरु भएको वर्गीकरणमा अधिकांशले अवकाश रोजेका छन् । शिविरमा रहेका लडाकुले अपमान भएको महसुस गर्दै अवकाश रोजेपछि समायोजनमा जाने लडाकुको संख्या अपेक्षा गरिएभन्दा कम भएको छ । प्रारम्भिक अनुमानअनुसार सातवटा डिभिजनका पाँच हजार तीन सय ९३ लडाकुले अवकाश रोजेका छन् । शिविरहरू लडाकुविहीन भए पनि अब सातवटा डिभिजनमा चार हजार नौ सय १४ लडाकु रहेको तथ्यांकबाहिर आएको छ । तीमध्ये इलाम, उदयपुर, रोल्पा र कैलालीमा वर्गीकरणको काम बाँकी नै छ ।
माओवादीले सुरुमा १५ हजार लडाकुलाई सेनामा समायोजन गर्नुपर्ने माग राख्दै आए पनि पछिल्लो पटक उसको माग सात हजारमा झरेको थियो । दलहरूबीच ६ हजार पाँच सय लडाकु समायोजनमा पठाउने सहमति भए पनि दोस्रो वर्गीकरणका क्रममा लडाकु सिविरमा रहेका तीन हजारको हाराहारीका लडाकु पनि समायोजनमा जान तयार देखिएनन् ।
माओवादी लडाकुको पहिलो डिभिजनअन्तर्गत इलाम चुलाचुलीका पाँच सय आठ लडाकुले स्वैच्छिक अवकाश रोजेका छन् । सेना समायोजन विशेष समितिअन्तर्गतको सचिवालय टोलीका अनुसार समायोजन रोज्नेको संख्या दुई सय ७९ मात्र रहेको छ । सात सय २१ लडाकुको वर्गीकरण प्रक्रिया मंगलबार दिउँसो १२ बजेसम्म जारी रहनेछ ।
यस्तै, सिन्धुलीको दुधौलीमा रहेको माओवादी लडाकुको दोस्रो डिभिजनका अधिकांश लडाकुले पनि स्वैच्छिक अवकाश रोजेका छन् । सोमबार १२ कमान्डरसहित ९१ लडाकुलेे स्वैच्छिक अवकाश रोजेर बिदा भएका छन् ।
डिभिजन कमान्डर सुकबहादुर रोक्काका अनुसार स्वैच्छिक अवकाश रोज्नेको संख्या तीन सय ४६ पुगेको छ । दलहरूबीचको बार्गेनिङले समायोजन रोजेका लडाकुमा वितृष्णा पैदा भएर स्वैच्छिक अवकाश लिएको रोक्काले बताए ।
दुई नम्बर डिभिजनअन्तर्गत उदयपुर बेलसोतमा रहेको सहायक शिविरमा मंगलबार पुनःवर्गीकरण गर्ने भनिए पनि डिभिजनमा नै नसकिएकाले पुनःवर्गीकरण लम्बिने भएको छ । पहिलो वर्गीकरणमा डिभिजनका आठ सय पाँचले समायोजन रोजे पनि यसपटक अधिकांशले अवकाश रोजेका छन् ।
यस्तै, तेस्रो डिभिजनअन्तर्गत चितवन शक्तिखोरका एक हजार पाँच सय ८७ ले स्वैच्छिक अवकाश रोजेको सेना समायोजन विशेष समिति सचिवालयका सदस्य रहेका उपसचिव मधुविलास पण्डितले जानकारी दिए । शक्तिखोरमा पुनःवर्गीकरण सोमबार सकिएको छ । पहिलो चरणमा दुई हजार दुई सय १४ लडाकुले समायोजन रोजे पनि सेनाको मातहतमा शिविर गएपछि र कमान्डरहरूको दबाबपछि दोस्रो चरणमा पार्टीले अपमान गरेको भन्दै अधिकांश लडाकुले स्वैच्छिक अवकाश लिएका छन् ।
यसैगरी, चौथो डिभिजनमा रहेका अधिकांश माओवादी लडाकुले पनि स्वैच्छिक अवकाश रोजेका छन् । नवलपरासीको झ्याल्टुङडाँडा र हात्तीखोरमा रहेका एक हजार दुई सय ८२ लडाकुमध्ये सात सय ९६ ले स्वैच्छिक अवकाश रोजेको सेना समायोजन विशेष समितिका सदस्य सनन्दनप्रसाद कुर्मीले जानकारी दिए । चौथो डिभिजनमा नेतृत्वले समायोजन रोज्न दबाब दिँदा केही दिनअघि शिविरमा आगजनी र तोडफोडसमेत भएको थियो ।
यस्तै, रोल्पा दहवनस्थित पाँचौँ डिभिजनमा स्वैच्छिक अवकाशमा निस्कने लडाकुलाई दिइने चेक तथा पैसा अपुग भएपछि सोमबार पुनःवर्गीकरण स्थगित गरिएको छ ।
आइतबारसम्म पाँचौँ डिभिजनबाट पाँच सय १० लडाकुले स्वैच्छिक अवकाश रोजेका छन् । शिविरका अधिकांश लडाकु उमेरका कारण बाध्यात्मक रूपमा अवकाशमा जानुपरेको डिभिजनले जनाएको छ ।
रोल्पाको दहवनस्थित डिभिजन कार्यालय, दीर्घस्मृति बि्रगेड र सुनीलस्मृति बि्रगेडका ६ सय ५३ मध्ये दुई सय ९७ जना अवकाशमा निस्किसकेका छन् भने रोल्पाकै उँघामा रहेको ज्वारस्मृति बि्रगेड र मंगलसेन स्मृति बि्रगेडको अस्थायी शिविरमा रहेका ६ सय ३४ मध्ये दुई सय १३ लडाकुले अवकाश रोजेका छन् । पाँचौँ डिभिजनमा पहिलो चरणको पुनःवर्गीकरणमा एक हजार दुई सय ८७ लडाकुले समायोजन रोजेका थिए ।
यस्तै, सुर्खेत दशरथपुरस्थित छैठाँै डिभिजनका नौ सय आठ लडाकुले स्वैच्छिक अवकाश लिएका छन् । सेना समायोजन विशेष समितिका सदस्य डा. दीपकप्रकाश भट्टका अनुसार सोमबार मात्रै एक सय ९४ लडाकुले स्वैच्छिक अवकाश लिएका छन् । एक हजार पाँच सय ५९ लडाकु रहेको डिभिजनमा अब ६ सय ५१ लडाकु बाँकी छन् ।
यस्तै, कैलालीस्थित सातौँ डिभिजनको सहायक शिविर लोकेश स्मृति बि्रगेड गोरंगे र लिस्नेगाम स्मृति बि्रगेड बडैपुरका सात सय ३८ लडाकुले स्वैच्छिक अवकाश रोजेका छन् । दुवै शिविरमा एक हजार २६ लडाकु छन् । लिस्नेगाम स्मृति बि्रगेड बडैपुरमा पुनःवर्गीकरण जारी छ ।
सेना समायोजन तथा रेखदेख विशेष समितिको टोलीले आइतबारदेखि सातौं डिभिजनमा पुनःवर्गीकरण सुरु गरेको थियो । अवकाश रोजेका सबैलाई चेक दिइएको बिदाई टोलीका संयोजक गोपालसिंह बोहराले बताए ।
बडैपुरको पुनःवर्गीकरण सकिएपछि सातौँ डिभिजनको मुख्य शिविर तालबन्दमा पुनःवर्गीकरण सुरु हुनेछ । यसअघि अधिकांश लडाकुले सेना समायोजनमा जान चाहे पनि शिविर सेनामातहतमा राखिएपछि अधिकांश लडाकुले असन्तुष्टि जनाउँदै स्वैच्छिक अवकाश रोजेको बताइएको छ । डिभिजनमा एक हजार सात सय ६२ लडाकुले समायोजन रोजेर बसेका थिए ।
-युवराज विवश/झापा, माधव देवकोटा/सिन्धुली, प्रतिमा सिलवाल/चितवन, केबी राना/नवलपरासी, रीता लामा/दाङ, लक्ष्मण भण्डारी/सुर्खेत र दीपक ओली/कैलालीको सहयोगमा ।

अवकाश रोज्नेले खाए कुटाइ

प्रतिमा सिलवाल

चितवन, ४ वैशाख । माओवादी लडाकुको तेस्रो डिभिजन शक्तिखोरका कमान्डरले समायोजन रोज्न दबाब दिँदै दुई लडाकुलाई कुटेका छन् ।
शक्तिखोर शिविरका प्लाटुन कमान्डर विष्णु धिताल र सिपाही अनुप लामालाई कमान्डरले कुटेका हुन् । १ वैशाखमा स्वैच्छिक अवकाश लिएर चेक बुझेपछि कमान्डरको निर्देशनमा उनीहरू कुटिएका हुन् । ‘पहिले चेक खोसे,’ स्वैच्छिक अवकाशमा निस्किएका एक सहकमान्डरले भने, ‘त्यसपछि कुटपिट गरे ।’ कुटपिट भए पनि उनीहरूको अवस्था सामान्य छ ।
अन्य लडाकुले उनीहरूलाई कुटपिटपछि चेक खोसेको घटनाको विरोध गरेपछि सोमबार कमान्डर धनबहादुर मास्केले चेक फिर्ता दिएका छन् । सबैभन्दा बढी लडाकु रहेको शक्तिखोर शिविरका अधिकांश लडाकुले अवाकाश रोजेपछि मास्के दबाबमा परेका हुन् । उनले सहकमान्डरहरूमार्फत लडाकुलाई समायोजना रोज्न दबाब दिए पनि शिविर सेनाको मातहतमा रहेपछि अवकाश रोज्नेको संख्या बढेको हो ।
२० दिनअघि पनि स्वैच्छिक अवकाश रोज्ने इच्छा व्यक्त गरेका ४० लडाकुलाई कमान्डरले दबाब दिएर आत्मालोचना गराएका थिए । उनीहरूलाई समायोजनमा जान दबाब दिइएको थियो । पटकपटक समायोजनमा जान दबाब आएपछि अधिकांश लडाकुले चेक लिनुअगावै शिविर छोडेका थिए । शिविरका कमान्डर मास्केले स्वैच्छिक अवकाश रोज्ने अधिकांश लडाकुले शिविर छोडेकाले बिदाई गर्न नपाएको स्विकारे । उनले अपेक्षा गरेभन्दा बढी लडाकुले अवकाश रोजेको प्रतिक्रिया दिए ।
दोस्रो चरणको वर्गीकरणपछि एक हजार एक सय ७६ लडाकु समायोजनमा जाने तय गरिएको थियो । तर, पार्टीसँग असन्तुष्ट अधिकांश लडाकुले स्वैच्छिक अवकाश रोजेपछि कमान्डरहरू कुटपिटको तहमा ओर्लिएको लडाकुहरूले बताए । अहिले शिविरका छ सय २७ समायोजनको लिस्टमा छन् । ती पनि कमान्डरको दबाबमा बसेका र अधिकांश समायोजनका लागि योग्य नरहेको शिविरबाहिर रहेका लडाकुहरूले बताउँदै आएका छन् । पहिलो चरणमा वर्गीकरणमा समायोजन रोजेकामध्ये एक हजार सात सयमात्रै समायोजनमा जान योग्य थिए । अहिले भएको दोस्रो चरणको वर्गीकरणमा स्वैच्छिक अवकाश रोज्ने समायोजनमध्येका नै धेरै छन् । शिविरमा रहेका लडाकुमध्ये एक सय पनि समायोजनका लागि योग्य नरहेको असन्तुष्ट लडाकुको दाबी छ ।

प्रतिक्रिया