सुदूरपश्चिम पर्यटकको लागि उत्कृष्ट गन्तब्यः आप्पा

कैलाली, ४ वैशाख । पूर्वको ताप्लेजुङबाट हिमाली जिल्लाको भ्रमणमा हिडेका विश्व कीर्तिमानी आरोही आप्पा शेर्पा सहितको पदयात्री टोली सुदूरपश्चिमका हिमाली जिल्लामा रहेको छ ।

जलवायु परिर्वतनका कारण हिमाली र पहाडी क्षेत्रमा परेको नकारात्मक असर बारे विश्वको ध्यानाकर्षण गराउन र द ग्रेट हिमाल ट्रेकलाई विश्वको उत्कृष्ट गन्तव्यको रुपमा चिनाउन आप्पा टोली गत माघ–१ गते पूर्वको ताप्लेजुङबाट हिमाली जिल्लाको बाटो हिड्दै सूदुरपश्चिमका जिल्ला आइपुगेको हो ।

टोलीमा दुई पटक सगरमाथा आरोहण गरेका दावा शेर्पा, क्लाईमेट च्याम्पियन सौरभ ढकाल, फोटोग्राफर समिरजंग थापा तथा दुईजना विदेशी नागरिक सहित २१ जना छन् ।

आप्पा टोली विभिन्न हिमाली जिल्ला हुदै बाजुराबाट आइतबार साझ बझाङ सदरमुकाम चैनपुर पुगेको छ । २२ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका आप्पाको नेतृत्वमा पदयात्रा टोली २२ वटा हिमाली जिल्लाको पदयात्रामा निस्केको हो ।
९२ दिनमा बझाङ पुगेको आप्पा नेतृत्वको टोलीको बझाङ २१ औं जिल्ला हो । यो टोली सोमबार दार्चुला जिल्लातिर हिडेको छ ।

दार्चुलामा पुगेपछि आफ्नो पैदल यात्रा समापन हुने आप्पाले बताए । जलवायु परिवर्तनको असर तथा सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको बारे पैदलै हिडेर जानकारी लिएकोमा बझाङवासीले दोसल्ला ओढाई सम्मान तथा बाजागाजा सहित बिदाई गरेका थिए ।

ताप्लेजुङदेखि हिमाली जिल्लाको बाटो हिड्दै आप्पा टोलीले पहाड र हिमालमा बसोवास गर्ने समुदायस“ग पनि भेटघाट गर्दै जलवायु परिवर्तनले पुरयाएको असर बारे छलफल गरेको थियो ।

सुदूरपश्चिममा पनि धेरै पर्यटकीय क्षेत्र रहेको भन्दै आप्पाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सके सुदूरपश्चिम पर्यटकको लागि आर्कषक गन्तब्यस्थल बन्ने बताए । उनले सुदूरपश्चिमलाई खाली नकरात्मक कुराबाट मात्र चिनिन्ने गरेको उल्लेख गरे ।

प्रतिक्रिया