बहराइन ग्राँ-पी स्थगन हुन सक्ने

लन्डन, ३ वैशाख । अटो स्पोर्टसको सर्वाधिक महत्त्वपूर्ण प्रतियोगिता फर्मुला वान -एफ वान) मा सहभागी हुने धेरैजसो टोली यस वर्ष बहराइन ग्राँ-पी स्थगन हुने अनुमान गरिरहेका छन् । यसको कारण सामाजिक उथलपुथललाई मानिएको बिबिसीले जनाएको छ ।
एफ वान निर्देशक बर्नी एक्लेस्टोनले भने अनुसार कुनै पनि टोलीले हालसम्म उनीसित खासै सरोकार नदेखाएको तर बहराइनले उक्त प्रतियोगिता आयोजना निम्ति पाएको लाइसेन्स भने नवीकरण नहुन सक्ने सम्भावना छ । बहराइनले सन् २०१६ सम्म उक्त मोटर रेस आयोजनाको अधिकार पाएको छ । यसलाई विश्वकै सबैभन्दा आकर्षक ग्राँ-पीहरूमध्ये एक मानिन्छ ।
त्यसअघि फर्मुला वान टिम्स एसोसिएसनको तर्फबाट जारी वक्तव्यमा अटो स्पोर्टसको अन्तर्राष्ट्रिय संस्था एफआइएले मात्र त्यसरी बहराइन ग्राँ-पी स्थगन गर्न सक्ने जनाइएको छ । फर्मुला वान टिमहरूले निकटभविष्यमै चीनमा एक्लेस्टोनसित भेटेर यस सम्बन्धमा कुराकानी गर्ने भएका छन् ।
गत वर्षजस्तै यसपटक पनि उक्त ग्राँ-पी स्थगन गर्ने मनस्थितिमा भने बहराइनी अधिकारीहरू छैनन् । तसर्थ, उक्त स्थगनसम्बन्धी सबै प्रसंग एफआइएमा निहित छन् । गत वर्ष सन् २०११ मा अरबको वसन्त विद्रोहको प्रभावले गर्दा बहराइन ग्राँ-पी स्थगन भएको थियो । दुई वर्षसम्म लगातार नियमित क्यालेन्डरमा पर्न नसकेमा आयोजना अधिकार फेरि नवीकरण हुन नसक्ने सम्भावना बलियो रहन्छ । यस वर्ष पनि सुरुदेखि नै सरकारविरोधी प्रदर्शन र त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच निकै झडप भइरहेका छन् ।
बहराइनको बहुसंख्यक सिया समुदायले सत्तासीन सुन्नी समुदायबाट उदार लोकतान्त्रिक सुधारका लागि आवाज उठाइरहेको छ तर सरकारले उनीहरूको आवाज दबाउने नीति अख्तियार गर्दै आएको छ ।
गत साता मात्रै प्रतियोगिताका बहराइनी आयोजकहरूले उक्त ग्राँ-पीको आयोजनाले देशलाई एकताबद्ध गर्न र शान्तिपूर्ण सहअस्तित्व कायम गर्न सघाउ पुग्ने बताएका थिए । त्यसको जवाफमा एक्लेस्टोनले बहराइन ग्राँ-पी आयोजना सम्बन्धमा कुनै संशय नरहेको विचार व्यक्त गरेका थिए । बहराइन ग्राँ-पी आगामी २२ अपि्रलमा सञ्चालन हुने कार्यक्रम पूर्वनिर्धारित थियो ।
पूर्वविश्वच्याम्पियन डेमोन हिलले बहराइन ग्राँ-पी आयोजना गर्ने सम्बन्धमा एफआइएले फेरि सोच्नुपर्ने अवस्था आएको बताएका थिए । तर, अर्का बेलायती पूर्वविश्वच्याम्पियन सर ज्याकी स्टेवार्टले भने उक्त ग्राँ-पी आयोजना गर्नुपर्ने बलियो अडान व्यक्त गरेका छन् । प्रतियोगिताको आयोजना केवल फर्मुला वान मात्र नभएर लोकतन्त्रको सम्वर्द्धनसमेत रहेको उनको तर्क छ ।

प्रतिक्रिया