‘शान्तिभन्दा राष्ट्रिय स्वाभिमान ठूलो’

सोलः उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले उत्तर कोरियालाई धम्क्याउने दिन सदाका लागि समाप्त भएको बताएका छन् । उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मशताब्दीका अवसरमा आइतबार आयोजित कार्यक्रममा नेता उनले यस्तो बताएका हुन् ।
गत डिसेम्बरमा बाबु किम जोङ इलको निधनपछि देशको शासनसत्ता सम्हालेका उनले पहिलोपटक सार्वजनिक कार्यक्रममा भाषण दिने क्रममा यस्तो बताएका हुन् । सुङको जन्मशताब्दीका अवसरमा उत्तर कोरियाली सेनाले नयाँ क्षेप्यास्त्रसहित सैन्य परेड गरेको थियो ।
उत्तर कोरियाले सैन्य उन्माद प्रदर्शन गरेर अशान्ति मच्चाएको आरोप अमेरिका, दक्षिण कोरिया, जापानलगायत मुलुकले लगाइरहेका बेला नेता उनले जन्मशताब्दी कार्यक्रममा भेला भएका हजारौँमाझ भने, ‘शान्ति महत्त्वपूर्ण छ तर त्योभन्दा महत्त्वपूर्ण छ- राष्ट्रिय स्वाभिमान । आउ“m, हामी सबै अन्तिम विजयका लागि अग्रसर बनौँ ।’
२० मिनेट लामो लिखित भाषणमा उनले देशले अवलम्बन गरेको ‘सेना प्रथम’ नीतिको सराहना गरे । उत्तर कोरियासँग अत्याधुनिक हातहतियार भएको दाबीसमेत उनले गरे । ‘सैन्य प्रविधिमा साम्राज्यवादीहरूको सर्वोच्चता र एकाधिकार अब रहेन,’ उनले भने । उत्तर कोरियाली सेनालाई प्रभावशाली बनाउने हरसम्भव प्रयास गरिने उनले प्रस्ट पारे ।
परमाणु हतियारको आडमा उत्तर कोरियालाई धमक्याउने दिनसमेत समाप्त भएको उनले बताए । भारत, चीन, इजरायल र पाकिस्तानबाहेक परमाणु हतियार भएको उत्तर कोरिया पाँचौँ एशियाली राष्ट्र हो ।

प्रतिक्रिया